PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

४३ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?



पहिलोपोस्ट

४३ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ४३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका ४० प्रयोगशालामा भएको १२ हजार ५१९ नमुना परीक्षणका क्रममा १४२ महिला र ४५२ पुरुष गरी जम्मा ६३४ जना कोभिड-१९ का संक्रमित पहिचान भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

पछिल्लो संक्रमित थप भएसँगै १२ हजार ६२१ जना संक्रमित आइसोलेसनमा छन्। जसमध्ये ८ हजार ७०५ संक्रमित संस्थागत आइसोलेसन तथा ३ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ।

शनिवार ९ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १४६ पुगेको छ।

कुन जिल्लामा कति?

पछिल्लो २४ घण्टामा ४३ जिल्लामा संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रमित थप भएका छन्।

काठमाडौं उपत्यकामा २१६ जना कोभिड-१९ का संक्रमित थपिएकोमा सबैभन्दा बढी काठमाडौं जिल्लामा १६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी वाग्मती प्रदेशमा संक्रमित थपिएका छन्। वाग्मती प्रदेशमा २८७ जनामा संक्रमण पुष्टि भएको छ।

पर्सा जिल्लामा ५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने मोरङमा ५२ जना संक्रमित पहिचान भएका छन्।

पहिलोपटक भक्तपुरमा हालसम्मकै बढी ५० जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा संक्रमितको संख्या ११४ थपिएको छ। त्यस्तै, प्रदेश १ मा १०५ जना संक्रमित पहिचान भएका छन्। प्रदेश ५ मा ७९ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकीमा २३, सुदूरपश्चिममा १६ र कर्णाली प्रदेशमा १० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

संक्रमित पहिचान भएकामध्ये हाल १३५ जनाको आइसीयूमा उपचार भइरहेको छ जसमध्ये वाग्मती प्रदेशमा १२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रदेश १ मा १५, प्रदेश २ मा ४६ र वाग्मतीमा ५२ जना आइसीयूमा छन्। त्यस्तै, गण्डकीमा ६ र प्रदेश ५ मा १६ जनाको उपचार आइसीयूमा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell