PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

लुकीछिपी आउँदा उपत्यका अशान्त, नि:शुल्क हो, एकपटक पीसीआर गरौं भन्ने होडबाजीले राज्यलाई आर्थिक भार : मेयर शाक्य



पहिलोपोस्ट

लुकीछिपी आउँदा उपत्यका अशान्त, नि:शुल्क हो, एकपटक पीसीआर गरौं भन्ने होडबाजीले राज्यलाई आर्थिक भार : मेयर शाक्य

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरसँगै उपत्यकाभरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन्। सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्ने उनको चेतावनी छ।

उपत्यकावासीले यसअघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गर्दै मेयर शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताए। ‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उनले भने, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो।’

शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए। ‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र हो। यो औषधि होइन र यसले कोरोना रोकथाम गर्दैन,’ उनले भने।

परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय खर्च भएको भन्दै शाक्यले एउटा पोजेटिभ व्यक्ति भेट्न सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च गरेको स्मरण गराए। ‘स्वास्थ्य मन्त्रालयकै तथ्याङ्क अनुसार पीपीई बाहेक ल्याब टेष्टमा मात्रै एक जनाका लागि नेपाल सरकारको पाँच हजार पाँच सय खर्च गरेको छ। त्यसपछिको उपचारका लागि आइसीयुमा ३० दिन राख्नुपर्दा ४ लाख ५ हजार खर्च हुन्छ,’ उनले भने, ‘त्यसैले यस्तो खर्चिलो पीसीआर परीक्षण जथाभावी रुपमा गरेर दुरुपयोग नगरौँ।’

उनले संक्रमणको सम्भावना भएका र गर्नैपर्ने बाहेकका व्यक्तिले निशुल्क हो, मेरो पनि एक पटक गरौँ न त भन्ने होडवाजीमा जथाभावी परीक्षण गर्ने हो भने त्यसको दुरुपयोग हुनेतर्फ पनि चिन्ता व्यक्त गरे। ‘गर्नेपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परिक्षण गर्छ। तर, निशुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित संक्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ,’ उनले भने, ‘त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell