कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये धनगढीमा गरिएको परीक्षणमा १३ जना र डडेल्धुरामा भएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका सात जना, कैलारी गाउँपालिका वडा नम्बर ६ का तीन जना र भजनी नगरपालिका वडा नम्बर ७ का एक जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार धनगढीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ५१ बर्षीय पुरुष र वडा नम्बर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।
ती दुवै जना एक विद्यालयका सञ्चालक र अर्का छुट्टै विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका हुन्। शिक्षिकाको विगत झण्डै एक वर्ष यता धनगढी बाहिरको कुनै ट्राभल हिस्ट्री छैन। दुवै जनालाई आइसोलेसनमा बस्न सुझाइएको उपमहानगरकाका स्वास्थ्य संयोजक लक्ष्मीराज उपाध्यायले बताए।
धनगढीमा हालसम्म एक सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकको छ। त्यसमध्ये २२ जनाको बाह्य ट्राभल हिस्ट्री छैन।