PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कोभिडले रोकियो ओलम्पिक खेलाडीको अभ्यास, विज्ञको सुझाव : सुरक्षा सर्तकता अपनाएर खेलाडीलाई फिल्डमा उतारौं



पहिलोपोस्ट

कोभिडले रोकियो ओलम्पिक खेलाडीको अभ्यास, विज्ञको सुझाव : सुरक्षा सर्तकता अपनाएर खेलाडीलाई फिल्डमा उतारौं

काठमाडौं : विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागि जनाउँदै पदक हासिल गर्ने लक्ष्य सबै खेलाडीले बुनेकै हुन्छन। तर यसपटक कोरोना महामारीका कारण सबै क्षेत्र असामान्य परिस्थितिबाट गुज्रिएको छ। जसको प्रभाव यसपटकको ओलम्पिकमा समेत पर्‍यो।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै टोकियो ओलम्पिक एकवर्ष पछाडि धकेलिइ सकेको छ। तर ओलम्पिकको तयारी भने रोकिएको छैन। विभिन्न देशमा सुरक्षा सतर्कता अपनाउँदै महामारीकै बीच पनि प्रशिक्षणहरु चलिरहेको छ। नेपालमा पनि लकडाउन खुलेयता केही खेलहरुको प्रशिक्षण सुरु भएको थियो तर महामारी फैलिँदै गएपछि अहिले फेरि खेल क्षेत्र ठप्प बनेको छ। कयौं जिल्लाहरुमा निषेधाज्ञा लागेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले सूचना निकालेर खेलकुदका सबै गतिबिधि रोक्न भनिसकेको छ।

अहिले ओलम्पिकको तयारीमा फिल्डमा हुनुपर्ने नेपाली खेलाडीहरु घर भित्रै थुनिएका छन्। अझै कतिदिन घरभित्रै बुस्नुपर्ने हो थाहा छैन। ओलम्पिकमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुको सपना बीच कोरोना महामारी आइदिएको छ। त्यसैले अभ्यास नहुँदा उनीहरु चिन्तित बनेका छन्। ओलम्पिकमा सहभागिता जनाउने सपना बुनेका खेलाडीहरु घरमै वर्कआउट गर्न बाध्य भएका छन्। आफ्नो लक्ष्यलाई पूरा गर्न दिनरात मिहेनत गरिरहेकै छन् खेलाडीहरु।

ओलम्पिक सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो उपलब्धिको सूचकको रुपमा लिइन्छ। छनोट चरण पार गर्दै नेपाली खेलाडीले सहभागिता जनाए नेपाली खेलकै शानको रुपमा व्याख्या पनि गरिन्छ। त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले राष्ट्रको प्रतिनिधित्व गरेका छन्। उनीहरुको अब्बल मिहेनत र लगाबले उनीहरुको ओलम्पिक बाटो खुलेको थियो।

तर अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागितालाई कोरोना तगारो बनेको छ, अभ्यासमा जुट्न नपाउँदा। नेपाली खेलाडीलाई ओलम्पिक सहभागिताको खुडकिलो छनोट चरण पार गर्न निकै कठिन छ। छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम वाइल्ड कार्ड मौकालाई सदुपयोग गर्न महामारीका बीचमा पनि अभ्यास संचालन हुनुपर्ने खेलविज्ञ सुशीलनरसिंह राणा बताउँछन्।

राणा कोभिडको कारण देखाउँदै खेलाडीहरुलाई लामो समय प्रशिक्षणबाट बाहिर रखिएकोमा असन्तुष्ट सुनिन्छन्। उनी ट्रेनिङलाई ‘अनगोइङ’ प्रोसेसको रुपमा लिन्छन् र रोक्न नहुने तर्क गर्छन्।

‘यदि यसले निरन्तरता पाएन भने के हुन्छ भने एकवर्ष लगाएर तपाईले विकास गर्नुभएको एउटा इभेन्ट स्पेसिफिक स्ट्रेन्थलाई ६/७ महिनासम्म ट्रेनिङ गरेन भने फेरि त्यो जिरोमा पुग्छ। भनेपछि त्यो कुरालाई गेन गर्नलाई फेरि अर्को एकवर्ष जानुपर्ने अवस्था आउन सक्छ,’ एथलेटिक्सका प्रशिक्षकसमेत रहेका राणाले भने, ‘यदि हामीले नरोकेको भए अर्को उचाइमा हुने थियौं। स्ट्रेन्थ अर्को उचाइमा हुन्थ्यो। यसरी प्रशिक्षण रोक्दै गर्ने बस्ने हो भने हाम्रो खेलकुदको त्यहाँ सहभागितामा मात्र रहन्छ।’

ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो

ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो

Posted by PahiloPost on Saturday, August 22, 2020

हुन त अझै ‘वाइल्डकार्ड’ अवसर छ भन्ने तर्क आउन सक्छ तर त्यसलाई सदुपयोग गर्न पनि खेलाडीलाई राम्रो प्रदर्शन र नतिजा आवश्यक पर्छ। राम्रो प्रदर्शनका लागि राम्रै अभ्यास त चाहियो नै।

‘वाइल्ड कार्ड’बाट भए पनि ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य लिएकी करातेकी अनु अधिकारीले तीब्र गतिमा फैलिएको कोरोनाले अभ्यास गर्न कठिनाई भएको अनुभव सुनाइन्।

‘लकडाउनले गर्दा एकदमै चिन्ता लाग्न थालेको छ। भविष्यलाई लिएर। भोलिको दिनमा कहिले खुल्ने हो यो। कहिले अभ्यास सुरु हुने हो। धेरै लामो समयसम्म भइरह्यो भने त के हामी ट्रेनिङ नै नगरी बस्ने?’ १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी अधिकारी भन्छिन्, ‘घरमा ट्रेनिङ त गरिराछौं। घरमा जति गर्छौं त्यो ट्रेनिङले चाहीँ हामीलाई ओलम्पिक जस्तो गेम खेल्न चाही पक्कै पुग्दै पुग्दैन।’

नेपाल बाहेक दक्षिण एसियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदण्ड बनाएर अभ्यासलाई तीब्रता दिइरहेको छ। छिमेकी राष्ट्र भारतले क्रिकेटको ठूलो फ्रेन्चाइज लिग आइपिएल आयोजनाको अन्तिम चरणमा छ। अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तान इङ्ग्लयाण्ड पुगेको छ टेस्ट र टी २० सिरिज खेल्नलाई। अझ भनौ नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेलिरहेका छन्। जबकी नेपालमा भने अभ्याससमेत कोरोनाको महामारीलाई देखाउँदै हुन सकिरहेको छैन।

यता ओलम्पिक कमिटी भने सहज अवस्थाको पर्खाइमा छ। अझ एनओसीका कर्मचारीलाईसमेत कोरोना संक्रमण पुष्टी हुँदा ‘रिस्क’ लिने सुरमा न कमिटी छ न त राखेप नै। सुरु हुन लागेको फुटबलको अभ्यास पनि एएफसी पछि हट्दा स्थगित हुन पुगेको थियो। यस्तोमा सम्बन्धित निकायमाथि प्रश्न उठ्छ नै।

खैर ओलम्पिकको नयाँ मिति तोकिएको र अन्य प्रतिस्पर्धी देशहरुमा भने अभ्यास चलिरहेको यो कठिन अवस्थामा सम्बिन्धित संस्थाले अभिभावकत्व गर्न नसक्दा ओलम्पिक कमिटीमाथि औचित्यको प्रश्न उठ्नु पनि स्वभाविक हो।

नेपालबाट ७ खेलका १२ खेलाडीको नाम वाइल्डकार्डका लागि सिफारिस गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell