PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हनुमानको मन्दिर अगाडि पूजारीको हत्या : 'क्लु'समेत फेला पारेन प्रहरीले, त्रसित छन् स्थानीय



सविन ढकाल

हनुमानको मन्दिर अगाडि पूजारीको हत्या : 'क्लु'समेत फेला पारेन प्रहरीले, त्रसित छन् स्थानीय

काठमाडौं : गर्मीको मौसम। तराईका जिल्ला खपिनसक्ने अवस्था। बुधवार राति करिब पौने ९ बजेतिर ६५ वर्षीय श्रीराम साह भोक मेट्ने तर्खरमा थिए। मन्दिरको भेटीबाट चल्दै आएको उनको दैनिकीमा बुधवार पनि एक लोटा पानी, केही रोटी तरकारी र नुनको ढिका जुरेको थियो।

मन्दिर नजिकैको छाप्रो बाहिर रोटी खाइरहेका थिए। तर, एक्कासी एउटा घटना घट्यो। जसले गर्दा भागको रोटी पेटसम्म पनि पुग्न पाएन। एकाएक उनीमाथि गोली प्रहार भयो। रोटी खाइरहेका साहको बायाँ कन्चटमा गोली लाग्यो। उनी भूईँमा ढले। त्यहीँ अन्तिम सास फेरे उनले।

घटनास्थल हो - रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया स्थित हनुमान मन्दिर।

यो घटना भएको तीन दिन बितिसकेको छ। तर, पुजारी साहको हत्या कसले र किन गर्‍यो अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी अहिले यही घटनाको अनुसन्धानमा रुमलिएको छ।

साहले पूजा गर्दै आएको हनुमानको मन्दिर उनको घरबाट झन्डै १ किलोमिटर पर रहेको छ। उनी मन्दिरमा नै बस्दै आएका थिए। रातको समय, गाउँभन्दा केही सुनसानमा ठाउँमा मन्दिर भएकाले मानिसको चहपहल कम नै हुने गर्छ। त्यसैले घटनाको समयमा को आएको थियो? गोली प्रहार गर्ने मानिसको हुलिया कस्तो थियो? हत्याराले कुनै सवारी साधन प्रयोग गरेका थिएन वा थिएनन्? प्रहरीलाई जानकारी दिने मानिस समेत भेटिएको छैन।

'सुनसान ठाउँ भएकाले मानिसको मोमेन्ट कम थियो। त्यसैले गर्दा हामीलाई अलिकति घटनाको समयको अवस्था थाहा पाउन गाह्रो भएको छ,' जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले भने।

घटनाको प्रकृति हेर्दा कसैले योजनाबद्ध रुपमा नै हत्या गरेको देखिन्छ। केही मिटरको दुरीबाट गोली प्रहार भएको छ। गोली प्रहार तर्साउनका लागि भन्दा पनि मार्ने उद्देश्यले नै भएको देखिन्छ। कन्चटमा गोली लागेको प्रकृत्ति हेर्दा प्रोफेसनल व्यक्तिले नै गोली चलाएका छन्। हत्यारा को हो र किन भयो भन्ने प्रहरीले खोजी गरिरहेको छ।

'अहिलेसम्म केही खुल्न सकेको नै छैन। हाम्रो टिम लागिरहेको छ। विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं। केही समयमा पत्ता कसो नलाग्ला,' दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी धीरजप्रताप सिंहले भने। प्रहरीले घटनाको अनुसन्धानमा केही प्राविधिक पक्षहरु पनि हेरिरहेको छ।

पुजारीको हत्यारा पत्ता नलाग्दा प्रहरीमाथि दवाव बढ्न थालेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले पुजारीका हत्यारामाथि कारवाही गर्न माग गरेका छन्। हत्यारा पत्ता लगाउने समय घर्किदै जाँदा विभिन कोणबाट टिकाटिप्पणी समेत भएका छन्। घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने कारणले समेत भएको हुनसक्ने अनुमान भइरहेको छ। तर, प्रहरीको अनुसन्धानको गुत्थी नसुल्झिएसम्म यसै भन्ने स्थिति देखिँदैन।

माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह एक्लै बस्दै आएका थिए। उनकी श्रीमतीको केही समय अगाडि नै मृत्यु भइसकेको छ। उनका छोराछोरी समेत छैनन्। उनका दाजुभाइ मन्दिर नजिकैको गाउँमा बस्दै आएका छन्। पुराजी एकदम शान्त, नरिसाउने स्वभावका भएको माधव नारायण नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद यादव बताउँछन्।

'हामी पनि अचम्ममा परेका छौं। कुनै झगडा, रिसाह स्वभावको मानिस होइन उहाँ। किन कसले हत्या गर्‍यो हामी त अलमलमा परेका छौं,' प्रमुख यादवले भने।

करिब दुई वर्षअघि पुजारी साहको पहलमा नै गाउँमा हनुमानको मन्दिर बनाइएको थियो। ऐलानी करिब १० कठ्ठा जग्गामा पुजारीले आफ्नो केही कठ्ठा जग्गा बेचेर मन्दिर बनाउन रकम जुटाएका थिए। घर परिवार नभएपछि उनी त्यही मन्दिरमा पुजाआजा र रेखदेख गरेर बस्दै आएका थिए।

पुजारीको हत्या भएपछि अहिले खेसरहिया गाउँ नै त्रासमा छ। जसरी भए पनि अपराधीलाई तत्काल पत्ता नलागेसम्म मनमा शान्ति नहुने बताइरहेका छन् स्थानीय। तर, प्रहरीले अहिलेसम्म हत्याको 'क्लु' सम्म पनि पुग्न सकेको छैन।

'हामीलाई धेरै दु:ख तथा त्रास भएको छ। कसले र किन हत्या गर्‍यो भन्ने पत्ता नलागेसम्म हामो मनले शान्ति पाउँदैन,' वडा नम्बर २ का वडा अध्यक्ष हनुमान सहनी मलाहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell