काठमाडौं : विश्वभरी मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्याले ८ लाखको सीमा पार गरेको छ। चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमणले विश्व नै संकटमा छ। कोरोनाविरुद्ध चीनले सफलता पाएको भए पनि बाँकी विश्व अहिले चरम संकटबाट गुज्रिरहेको छ।
कोरोनाको तथ्याङ्क प्रशोधन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहानसम्म विश्वभर ८ लाख ३ हजार ३ सय ९७ जना संक्रमितको मृत्यु दर्ता भएको छ। मृत्यु हुनेको रेसमा अमेरिका, ब्राजिल र मेक्सिको सबैभन्दा अगाडि छन्। त्यसपछि भारत, बेलायत र इटाली पछिपछि छन्।
चीनको वुहानमा २०१९ को डिसेम्बर सुरुवातमा नै एक जना चिनियाँमा कोभिड १९ भाइरस भेटिएको थियो। चिनियाँ चिकित्सकहरुले यो संक्रमणले विश्वमा ठूलो प्रभाव पार्ने र अनियन्त्रित हिसाबले फैलने चेतावनी दिएका थिए। विश्व स्वास्थ्य संगठनले पनि चीनबाट प्राप्त रिपोर्टका आधारमा संक्रमणको जोखिमबारे चेतावनी दिएको थियो।
तर, अमेरिका तथा युरोपेली मुलुकहरुले यो चेतावनीलाई वेवस्ता गर्दै आफ्ना गतिविधिलाई यथावत राखेका थिए। चीनले कडा लकडाउन गर्दै संक्रमणलाई नियन्त्रण लिन सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउने विषयको विरोधमा उत्रिएका थिए। कोरोना संक्रमणबाट अमेरिकामा मात्रै १ लाख ७६ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको छ।
चीनले संक्रमण रोक्न लकडाउन गरिरहँदा ब्राजिलमा चाहिँ फुटल म्याचदेखि सबै गतिविधि निर्वाध चलिरहेको थियो। संक्रमितको संख्या र मृत्यु हुने रफ्तारमा ब्राजिल दोस्रो स्थानमा छ। ब्राजिलमा अहिलेसम्म १ लाख १४ हजार २ सय ५० जनाको मृत्यु भइसकेको छ।
मेक्सिकोमा पनि ६० हजार २ सय ५४ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा मृत्युको रफ्तार कायमै छ। त्यहाँ अहिलेसम्म ५५ हजार ७ सय ९४ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।
