PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

जन्मदिनमा रुँदै माफी मागिन दिपाश्रीले : राजेश दाइको बारेमा टिप्पणी गर्नु मेरो ठूलो भुल थियो



पहिलोपोस्ट

जन्मदिनमा रुँदै माफी मागिन दिपाश्रीले : राजेश दाइको बारेमा टिप्पणी गर्नु मेरो ठूलो भुल थियो

काठमाडौं : कलाकार दिपाश्री निरौलाले अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीका लागि फेरि माफी मागेकी छन्।

आइतवार परेको जन्मदिनका अवसरमा दिपाश्रीले आफ्नो फेसबुक अकाउन्टमा भिडियो राख्दै राजेश हमालमाथि टिप्पणी आफ्नो जीवनकै ठूलो भुल भएको उल्लेख गरेकी छन्।

केही साताअघि दिपाश्रीले एक अन्तर्वातामा राजेश हमाल महानायक हो र? भन्दै प्रश्न गरेकी थिइन्। हमालको महानायक पदवीमा प्रश्न उठाएपछि उनको कडा आलोचना भएको थियो। पुराना कलाकारहरु उनीविरुद्ध खनिएका थिए।

त्यतिबेला पनि उनले फेसबुकमा स्टाटस लेखेर माफी मागेकी थिइन्। त्यो माफीले पनि माहोल शान्त भएको थिएन। सहकर्मी दिपकराज गिरीले पनि दिपाको तर्फबाट माफी मागेका थिए। पछि राजेश हमालले आफ्ना फ्यानलाई दिपाश्रीलाई माफी दिन अनुरोध गरेका थिए।

आज फेरि दिपाश्रीले जन्मदिनको अवसर पारेर फेसबुक भिडियोमा आफै उपस्थित भइ माफी मागेकी हुन्।

उनले आफूले काममा सफलता पाए पनि व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ भन्ने यो घटनाले महसुस गराएको उल्लेख गरेकी छन्।

'मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ। मैले अहिले महसुस गरे,' उनले भनेकी छन्।

दिपाश्रीका अनुसार अन्तर्वार्तामा जाँदा तीन वटा गल्ती गरेको महसुस उनलाई भएको छ। 'सहकर्मी दिपकराज गिरीले नजानु भन्दा वेवास्ता गरेर विना तयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती थियो। दोस्रो गल्ती मलाई आरोप लाग्ने घोचिला पेचिला प्रश्नहरुले गर्दा आफूलाई, आफ्नो आवेशलाई नियन्त्रण गर्न सकिन। बडि ल्याङग्वेजमा समस्या आयो,' उनले भनेकी छन्, 'तेस्रो गल्ती र प्रमुख गल्ती भनेको मिडियामा कुटनीतिक चलाखी देखाउन सकिन। म एउटा कलाकार भएर अर्को एउटा सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगे। त्यो मेरो ठूलो भुल महसुस भयो।'

अन्तर्वार्ता आइसकेपछि दिपकले फोन गरेर शब्द चयन राम्रो नभएको, आफूलाई मन नपरेको भनेको कुरा दिपाश्रीले स्मरण गरेकी छन्। 'त्यसपछि मलाई यति धेरै गालीगलौज र तिरस्कार शब्द आए,' दिपाश्रीले रुँदै भनेकी छन्।

उनले सफलतासँगै गाली पनि सँगसँगै टाँसिएर आएको र पहिला पनि फिल्मका गीत, ट्रेलर रिलिज हुँदा पनि गाली नै खाएको स्मरण गरिन।

दिपकले आफूलाई तैले गल्ती गरिस, राजेश हमालको दाईको बारेमा राम्रो अभिव्यक्ति दिइनस भनिरहँदा उनलाई महानायक बनाइएको र ट्रोल गरिएकोमा दिपाले दु:ख व्यक्त गरेकी छन्। 'मेरो कारणले टिमलाई समेत आक्रमण भयो। टिम संकटमा पर्‍यो। मलाई एकदमै आत्मग्लानी भयो,' उनले भनेकी छन्, 'तर मेरा दर्शक, साथीभाई, परिवारको मायाले आज म फेरि उठे।'

'अबदेखि यस्तो गल्ती दोहोर्‍याउँदिन। आफ्नो व्यक्तित्व विकासमा समय खर्चिन्छु। दर्शको लागि राम्रो फिल्म बनाउने कोसिस गर्छु। राजेश दाईका फ्यानहरुलाई के भन्न चाहन्छु भने मेरो अभिव्यक्तिले यहाँहरुको मन दुखेको छ भने प्लिज आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला,' उनले भनेकी छन्।

नमस्कार! आज भाद्र ७ गते , मेरो जन्मदिन! धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिए त्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू ! आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?

Posted by Deepa Shree Niraula on Saturday, August 22, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell