कोभिड १९ को महामारीका बीच भारतमा फिल्म शुटिङका लागि केन्द्र सरकारले सशर्त अनुमति दिएको छ।
भारतका सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले आइतवार फिल्म तथा टेलिभिजन शुटिङका लागि १० बुँदे गाइडलाइन्स जारी गरेका छन्। जसलाई स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) भनिएको छ। गाइडलाइन्सले महामारीमा सुरक्षाको काम गर्नेछ।
शुटिङ स्थलसहित सबै ठाउँमा कलाकारसहित कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्ने, ६ फिटको भौतिक दुरी कायम गर्नुपर्ने, उच्च जोखिम क्षेत्रका कर्मचारीलाई सार्वजनिक सम्पर्कजस्तो फ्रन्टलाइन काममा सहभागी नगराउने जस्ता प्रावधान गाइडलाइनमा राखिएको छ। शुटिङ सेटमा दर्शकलाई आउन प्रतिबन्ध लगाइएको छ।
सूचनामन्त्री जावडेकरले गाइडलाइन्सले शुटिङ स्थलमा पर्याप्त उचित दुरीलाई सुनिश्चित गर्ने बताए। साथै उचित स्वच्छता, भीड़ नियन्त्रण र सुरक्षात्मक उपकरणका लागि प्रावधानसहित उपायहरु समावेश गरिएको उनको भनाई छ। 'कम भन्दा कम सम्पर्क एसओपीको मूल मर्म रहेको मन्त्री जावडेकरले उल्लेख गरेका छन्।
यसअघि महाराष्ट्र सरकारले केही निश्चित शर्तसहित शुटिङका लागि अनुमति दिइसकेको छ।
