काठमाडौं : कोभिड-१९ को संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बुटवल १ की ६७ वर्षकी महिलाको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाको छ।
साउन ३१ गत कोभिड-१९ को संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ। उनलाई कोभिड-१९ विशेष अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
त्यस्तै रुपन्देहीकै समसरीमाई २ मुडुलाका ३८ वर्षका पुरुषको पनि बुटवल कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भदौ १ गत संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा दिउसो १: १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
लुम्विनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको धागो कारखानास्थित कोभिड विशेष अस्पतालमा १६ जना संक्रमितको सघन उपचारकक्षमा उपचार भइरहेको थियो। जसमध्ये २ जना भेन्टिलेटरमा थिए। भेन्टिलेटरमा भएका दुबैको मृत्यु भएको हो।
हाल लुम्विनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्पतालमा ३७ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये १५ जनालाई आइसीयुमा राखिएको छ। सामान्य आइसोलेसन वार्डमा २२ जना संक्रमित रहेका छन्।
हालसम्म भर्ना भएका मध्ये ९२ जना कोभिड-१९ का संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन्। आइतबार दूई जना संक्रमितको मृत्यु भएसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
यसअघि कपिलवस्तुका २ जना र प्युठानका १ जनाको अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो।
