PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने



पहिलोपोस्ट

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने

विराटनगर : प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ। एक वर्षभित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याब परीक्षणका लागि काठमाडौं, भारतको दिल्लीसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिने उनको भनाइ छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए।

यादवका अनुसार प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिनेछ। त्यस्तै, विगतमा फैलिएको महामारी देखा परेमा पुनः पहिचान गर्ने तथा नयाँ रोगको परीक्षण पनि गर्नेछ।

त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने यादवको भनाइ छ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ। त्यसका लागि मन्त्रालयले क्याम्पससँग जग्गा प्राप्ति सम्बन्धि आजै सम्झौता गरेको छ। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell