विराटनगर : अत्यधिक खोजी सूचीमा रहेका हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका एक फरार अभियुक्त लागुऔषधसहित परेका छन्। पक्राउ परेका व्यक्ति हातहतियार तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य अररियाका ३९ वर्षीय बग्गा भनिने प्रदिप यादव रहेका छन्। यादवले त्यहीँबाट नेपालका प्रदेश नम्बर १ र २ का जिल्लाहरुमा अवैध हातहतियार तथा लागुऔषध कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्दै आएका थिए। उनी सञ्जालका मुख्य नाइकेका रहेको प्रहरीले जनाएको छ।
यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रवार साँझ विराटनगर महानगरपालिका १६ नम्बर दरैयाबाट पक्राउ गरेको हो। त्यस्तै, लागुऔषधसहित प्रक्राउ परेका यादवका साथबाट प्रहरीले डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद गरेको छ।
यसअघि पनि उनी नेपालमा अवैध हातहतियार बेच्ने अपराधिक कार्यमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ। यादवविरुद्द यसअघि दुईवटा मुद्दा चलिरहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका यादवले २०७५ मंसिर ३ गते मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल र ऐ पेस्तोलको के एफ ७.८३ लेखिएको गोली ४ थान नेपालमा बिक्री गरेका थिए। त्यस्तै, उनले विभिन्न समयमा भारतबाट अवैध हातहतियार नेपाल तर्फ पठाएको प्रहरीले जनाएको छ।
त्यसैगरी, २०७५ मंसिर ८ गते उनले विराटनगरका दुई युवालाई ३८० एम्पुल लागुऔषध, १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधेर पठाएका थिए। त्यस्तै, कटुवा पेस्तोल र ओके ९२७ र ८ एमएम लेखिएको २ राउण्ड गोली समेत विराटनगरस्थित बसपार्कमा दिन भनी सहित लागूऔषध पठाएको खुलेको थियो।
उक्त घटनामा संलग्नलाई पक्राउ गरी लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाई अनुसन्धान गर्दा सो हतियार र लागुऔषध नेपाल तर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको प्रहरीले पत्ता लगाएको थियो।
