PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

परीक्षणमा सरकारले चरम लापरबाही गरेको नेकपा सांसद बोगटीको आरोप, कोरोनाबाट तंग्रिन पिउँदैछन् गुर्जोको रस र बेसार पानी



प्रकाश भण्डारी

परीक्षणमा सरकारले चरम लापरबाही गरेको नेकपा सांसद बोगटीको आरोप, कोरोनाबाट तंग्रिन पिउँदैछन् गुर्जोको रस र बेसार पानी
फाइल फोटो

काठमाडौँ: प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी चैत ११ गते सरकारले लकडाउन गरेपछि बाहिरतिर त्यति डुलेनन्। संसद चलेका बेला संसद र कामै परे सिंहदरबार बाहेक अन्यत्र जान निषेध गरे आफैँले। संसद अधिवेशन अन्त्य भए पनि सिंहदरबार जानुपर्ने काम भने परिरहन्थ्यो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद लकडाउनकै बेला चर्कियो। दोस्रो तहका नेता र सांसद पार्टी जोगाउन भन्दै सक्रिय भए -त्यही बेला।

पार्टीको आन्तरिक किचलोमा चनाखो बस्नैपर्‍यो। नेताहरुले बोलाए निस्कनैपर्‍यो। तर मास्क र भौतिक दूरी अनिवार्य नै बनाएका थिए बोगटीले।

बेलाबेलामा स्वाब जाँच गर्दा नेगेटिभ रिपोर्ट देखिन्थ्यो। ढुक्क हुन्थे उनी। तर, भदौ २ गते कोभिड परीक्षणको रिपोर्ट आयो– पोजेटिभ।

संक्रमण कसरी भयो?

सरकारले आफैँ परीक्षण गर्नु भन्ने उर्दी जारी गरेपछि सांसद बोगटी असार १७ गते टेकु पुगे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अघिल्लो दिन दिएको स्वाबको भोलिपल्ट नतिजा आयो -नेगेटिभ।

उनी ढुक्क भए।

बाहिर हिँडडुल बन्द नै गरेका बोगटीका लागि असार २५ गते सिंहदरबार नगइ नहुने भयो। एकताको पक्षमा हस्ताक्षर गर्न आउनुपर्‍यो भने नेताहरुले।

'एकताको पक्षमा भनेपछि जानैपर्ने भयो। पार्टी एकता मेरा लागि ठूलो थियो। पुगेर हस्ताक्षर गरेँ,'उनले सुनाए।

काम सकेपछि सिधै टिकाथलीमा रहेको डेरा फर्किए। कोभिड संक्रमण त बढी नै रहेको थियो। भेटघाट बन्द गरे।

घरमै बसिरहेका बेला उनले खबर सुने -सिंहदरबारका एक कर्मचारीलाई संक्रमण भयो।

सांसद भेलामा सिंहदरबार पुगेका उनलाई पनि कौतुहलता भयो -को कर्मचारी रहेछन्?

आफैँले भेटेको कर्मचारीलाई संक्रमण भएछ। उनको मन भयो धुकचुक। मास्क लगाएकैले उनी त्यति डराएनन्। ढुक्कले बस्न पनि सकेनन्।

'सामाजिक दुरी, मास्क सबै खालका मापदण्ड पालन गरिएकै हो। तै पनि आफैँले भेटेका नै संक्रमित रहेछन् भनेपछि मलाई पनि शंका लाग्यो,' उनले भने।

साउन ३० गते आफ्ना पिएलाई लिएर सिधै टेकु हान्निए उनी। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिए र आफ्नो स्वाब दिए। रिपोर्ट नेगेटिभ आउनेमा आशावादी थिए। ३२ गते रिपोर्ट आयो मोबाइलमा। म्यासेज क्लिक गरे। नभन्दै लेखिएको थियो,'तपाईँलाई गरिएको परीक्षणमा कोभिड-१९ संक्रमण देखिएन।'

उनी ढुक्क भए। एक पटक संसदको बजेट अधिवेशन सुरु हुँदा, अर्को पटक साउन १८ गते र ३० गते गरी तीनपटक गरिएको परीक्षण, रिपोर्ट सबै नेगेटिभ।

कसरी आयो संक्रमितको सूचीमा नाम?

'तपाईँको स्वाब परीक्षण गरिएको रहेछ सर। रिपोर्ट पोजेटिभ आएछ। अब के गर्नुहुन्छ। घरमा बस्ने व्यवस्था छ कि छैन,' भोलिपल्ट काठमाडौं महानगरपालिकाबाट फोन आयो।

पत्याएन मुस्किल भयो। उल्टै प्रश्न गरे बोगटीले, 'तपाईँले मलाई के आधारमा पोजेटिभ भनेको? मेरो त हिजै नेगेटिभ नतिजा आइसक्यो।'

जवाफ सुनेपछि महानगरका कर्मचारी पनि अलमलमा परेछन्। 'म कन्फर्म गर्छु भन्दै फोन राखे।'

फेरि तिनै कर्मचारीले फोन गरेर उनलाई जानकारी गराए- सर तपाईँको पोजेटिभ नै हो।

त्यसपछि भने उनलाई झोक चलेछ।

'मैले अस्थायी ठेगाना ललितपुर, स्थायी अछाम अनि स्वाब दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा अनि टेकुले नेगेटिभ भनेको काठमाडौँ महानगर पोजेटिभ भन्छ!' आक्रोशित हँदै उनले सुनाए, 'मलाई त त्यसपछि कस्तो न कस्तो लाग्यो, कसरी यस्तो भयो मलाई अहिले पनि थाहा छैन?'

त्यसपछि उनले टेकुमा सम्पर्क गरे। टेकुका कर्मचारीले अघिल्लो दिन नेगेटिभको म्यासेज पठाएकोमा पछिल्लो दिन स्पष्टसँग नेगेटिभ हो भन्न सकेनन्। माथि त नेगेटिभ नै लेखेको रहेछ तलको यो के हो? डाक्टरलाई सोध्नुपर्छ अब भोलिमात्रै थाहा हुन्छ सर,'यति भनेर फोन राखे कर्मचारीले।

अघिसम्म काठमाडौँ महानगरको सूचनामा विश्वास नगरेका उनी टेकुको अस्पष्ट जवाफले रणभूल्लमा परे।

'महानगरको सूचनामा त विश्वास गर्ने कुरै भएन। मैले टेकुमा दिएको स्वाबको नेगेटिभ भनेपछि अस्पतालको नतिजाको विश्वास गर्ने हो नि। तर पछिल्लो दिन चाहिँ उनीहरुले कसरी पोजेटिभ भनेछन्?,'उनले भने।

टेकुका कर्मचारीले राखेको फोनको पर्खाइमा थिए बोगटी। तर बिहानभर फोन आएन। उनी आफैँले सम्पर्क गरे। कन्फर्म नै भयो -रिपोर्ट पोजेटिभ नै रहेछ।

कहाँबाट आयो भाइरस?

उनलाई आफ्ना पिएले भाइरस सारेको हो कि भन्ने लगेको छ। उनका पिए लकडाउनकै बेला विभिन्न ठाउँ घुमेको र टीकाथलीमा पनि बाहिरका मानिसलाई भेटेकोले पिएबाट संक्रमण आफूमा सरेको हो कि भन्ने आंशका गर्छन् बोगटी।

'मेरो पिए बाहिर-बाहिर हिँडिरहन्थ्यो। उसले मानिस पनि भेटेको रहेछ। उसैले पो सार्‍यो कि भन्ने लागेको छ मलाई,'उनले भने।

संक्रमण पुष्टि भएपछि उनलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मनमोहन अस्पतालको आइसोलेसनमा बस्ने व्यवस्था मिलायो तर उनलाई त्यहाँभन्दा कीर्तिपुरको आयुर्वेद भरपर्दो लाग्यो।

उनले अनुरोध गरे,'मलाई कीर्तिपुरको आइसोलेसनमा पठाइदिनुपर्‍यो।'

आयुर्वेद अस्पतालको आइसोलेसनमा रहेका उनी सरकारको लापरबाहीप्रति भने आक्रोशित छन्।

संक्रमितको नतिजामा भइरहेको लापरबाहीले समुदायमा संक्रमण व्यापक हुने सम्भावना रहेको तर्क छ, उनको।

'म त एक जना माननीय हुँ, मलाई त यसरी लापरबाही गरे। अघिल्लो दिन नेगेटिभ भनेको रिपोर्ट पछिल्लो दिन कसरी पोजेटिभ भयो होला। यो सरासर गलत काम हो। अब सुधार गरनौँ भने स्थिति भयावह हुन्छ,'उनले भने।

पोजेटिभ छैन भनेपछि त्यो मानिसले अरुलाई पनि संक्रमण सार्ने र त्यसको नतिजा भयावह हुने उनको भनाई छ। सरकारले परीक्षणमा एकदमै लापरबाही गरेको टिप्पणी उनको छ।

'न अस्पतालले राम्ररी सम्पर्क गर्छ न त परीक्षणको नतिजा राम्रोसँग गर्छ। यो त चरम लापरबाही भयो नी,'उनले भने।

+++

कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा उनी बसेको झण्डै एक हप्ता भयो। आइसोलेसन बसाइ उनका लागि त्यति पट्यारलाग्दो भएको छैन। एउटै कोठामा दुई छुट्टा-छुट्टै बेडमा उनी र उनका पिएलाई राखिएको छ। संक्रमण पुष्टि अघि र अहिले पनि उनलाई संक्रमणको लक्षण छैनन्। उनी तन्दुरुस्त नै छन्। बिहान ५ बजे नै उठ्ने उनको पुरानै बानी हो। आइसोलेसनमा पनि त्यो कायमै छ।

केही समयको नित्य कर्मपछि उनी योग तथा व्यायम गर्छन्। एक घण्टाको उनको समय योग र व्यायमका लागि छुट्याइएको छ। त्यसछि खाजाको समय हुन्छ।

खाजामा के?

'अरु बेला के खाजा खान्छौँ त्यस्तै हो अहिलेको खाजा पनि। बढीजसो चना, अण्डा फलफूललगायतको खाजा हुन्छ,'उनले भने।

त्यसपछि केही आयुर्वेदिक औषधि खाने समय हुन्छ, उनको। तातोपानी, गुर्जोको रस, बेसारलगायतका जडिबुटी संक्रमितको लागि आयुर्वेद अस्पतालले अनिवार्य नै गरेको छ। त्यसपछि उपलब्ध भएसम्म पत्रिका र इन्टरनेटमा समाचार हेरर समय बिताउन्छन्, बोगटी।

१२ बजेतिर बिहानको खाना खाएपछि भने उनको कार्यकर्ता तथा शुभचिन्तकसँग दिनभर जसो नै मोबाइलमा कुराकानी हुन्छ। उनको अधिकांश समय फोनमा कुराकानी गर्दै जान्छ। त्यही भएर पनि उनलाई समय काट्न कठिन भएको छैन। निर्वाचित क्षेत्रबाट पनि उनलाई दैनिक जसो फोन आइरन्छ।

'कतिपयका समस्या पनि हुन्छन्। मोबाइलबाट समाधान हुने खालका भए फोन गरेर समाधान पनि गर्छु। संक्रमित भएपछि धेरैले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गर्नुहुन्छ,'उनले भने। आइसोलेसनमा कति संक्रमित छन् भन्ने जानकारी छैन उनलाई। उनले सुनेका छन्,'कीर्तिपुरको आइसोलेसनको बेड संख्या दुई सय छ।'

तर उनी अहिलेसम्म आफ्नोकोठाबाट बाहिर गएका छैनन्।

के फरक छ आइसोलेसनमा?

बोगटी आइसोलेसनमा सबैलाई समान व्यवहार भएको दाबी गर्छन्। जसरी भाइरसले समान ढंगले संक्रमण हुन्छ त्यसरी नै आइसोलेसनमा रेखदेख भइहेको बोगटीको भनाई छ।

'साधारण मानिस र म माननीयमा पनि केही फरक छैन। बेड उस्तै हो। चिकित्सक तिनै हुन। खानेकुरा पनि एउटै हो,' उनले भने। अरु बिरामी भएर अस्पताल बस्दा र कोभिड संक्रमित हुँदा भने निकै फरक अनुभव भएको उनले सुनाए। अरु रोगको बिरामी भएमा डाक्टर तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष स्याहार-सुसार पाइने भए पनि अहिले भने त्यो सम्भव नभएको उनको भनाई छ।

'अरु खालको रोग भएको भए त डाक्टर/नर्स आएर सिधै हेर्थे होला नि। अहिले बोलाएको बेला पनि टाढैबाट आएर हेर्छन्। यसो गर्नुस् भनेर भन्छन्। निकै फरक खालको अनुभव लिँदैछु म अहिले त,' उनले सुनाए।

संक्रमणका बेलामा देश र नागरिकको सेवामा हरपल खट्नुपर्ने भए पनि आफैँ संक्रमित भएर अस्पताल परेकोमा भने बोगटीलाई दु: ख लागेको रहेछ। आफ्नो निर्वाचन क्षेत्रमा बाढी गएर ठूलो जनधनको क्षति भएको र आफू जान नपाएकोमा भने उनलाई खल्लो लागिरहेको छ।

'जिल्लामा बाढी गएर मानिस मरे म त्यहाँ जान पाइनँ। यस्तो बेलामा आफूले सक्ने सहयोग गर्न नसक्दा एकदमै दु:ख लाग्दोरहेछ,' उनले भने।

+++

उनका एक छोरा, एक छोरी र श्रीमती छन् टीकाथलीको भाडाको घरमा। उनीहरु बोगटीलाई संक्रमण भएपछि हप्ता दिनदेखि बाहिर निस्किएका छैनन्। तर अहिलेसम्म पनि उनीहरुलाई संक्रमण भयो भएन भन्नेबारे न बोगटीलाई थाहा छ न त उनको परिवारलाई नै। किनभने हप्तादिनसम्म पनि उनीहरुको परीक्षण भएको छैन। सांसद बोगटी हप्ता दिनसम्म पनि परीक्षण नभएकोमा खिन्न छन्। 'भोलि पर्सी कहिले हुने हो खै?,'उनले भने।

घरमा एउटै मात्रै बाथरुम भएकाले उनले अस्पतालको आइसोलेसन रोजेका थिए।

'दुईटा बच्चा पनि छन्। बाथरुम पनि एउटै भएपछि घरमा आइसोलेसन बस्ने वातावरण भएन,' उनले भने।

परिवार घरमा र आफू अस्पतालको आइसोलेसनमा बसिरहेका बोगटी अबको केही दिनमा आफू संक्रमणलाई जित्ने भन्दै आफ्नो मनोबल उच्च भएको बताउँछन्।

यद्यपि हालसम्म अस्पतालमा उनको एकपटक पनि कोभिड १९ संक्रमणको परीक्षण भएको छैन।

'मलाई लक्षण पनि छैन। यहाँ आयुर्वेदिक औषधि पनि अन्तको भन्दा अलि मजासँग खुवाउँदो रैछ। अर्कोतर्फ म केही दिनमै ठीक हुन्छु भन्ने मनोबल छ मेरो,'उनले भने।

ठीक भएर गएमा अब संक्रमणबारे एकदमै संवेदनशील हुने उनले बताए। भौतिक दूरी कायम गर्नु एकदमै जरुरी भएको आफू संक्रमित भएपछि थाहा पाएको उनले बताए। अरुबेला चिकित्सकले भनेको हेलचेक्रयाइँ गरिए पनि आफू संक्रमित भएपछि भने एकदमै सचेतना आफूमा थपिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell