PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

लकडाउनको पाँच महिनापछि नियमित उडान शुरु हुँदै, उडान तालिका बनाउँदै पर्यटन मन्त्रालय



रासस

लकडाउनको पाँच महिनापछि नियमित उडान शुरु हुँदै, उडान तालिका बनाउँदै पर्यटन मन्त्रालय
फाइल फोटो।

  • सिबी अधिकारी-

काठमाडौं : नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्। सरकारले भदौ १६ गतेदेखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।

कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ। त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ।

मन्त्रालयका सह-प्रवक्ता राजन पौडेलले सरकारको निर्णय अनुरुप दैनिक ५०० यात्रु नबढ्नेगरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए। उनले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ। सरकारी निर्णयअनुरुप पीसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पीसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ।

‘सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागि परेका छौँ, सोमवार या मंगलवारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ,’ सह-प्रवक्ता पौडेलले भने।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नियमित उडान गर्नेछन्।

सह-प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइड बडी ए ३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन्। यी उडानमा नेपालीसहित विदेशी एयरलाइन्सले तालिका अनुसार उडान भर्नेछन्।

पीसीआर सहज नभएका मुलुकबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ। चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ। सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक ५०० यात्रु ल्याउनेगरी सम्बन्धित मुलुक र गन्तब्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको जानकारी दिए।

‘भदौ १६ देखि हुने नियमित उडानको सेडुअल बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुङ्ग्याउछौँ,’ उनले भने।

सरकारले पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गर्ने निर्णय गरेको छ।

पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइनेछैन। यी मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काइनेछ। सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउने जनाएको छ।

यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ। विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टाइनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले बेहोर्नुपर्छ।

यस्तै, पीसीआर टेस्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुने जनाइएको छ। पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहेकाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गरिनेछ।

लकडाउनको पाँच महिनापछि नियमित उडान शुरु हुन लागेको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर लकडाउन लागू गरेको थियो। तत्कालीन परिस्थितिमा संक्रमणदर कम भएको आँकलन गरी विज्ञहरुको सुझावमा सरकारले यही भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने घोषणा गरेको थियो।

तथापि, राजधानी काठमाडौँसहित देशभर कोभिड-१९ का संक्रमित बढेपछि सरकारले पुनः भदौ १५ गतेसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो। विदेशमा अलपत्र नेपालीको उद्धार तथा अत्यावश्यक यात्रुका लागि उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भदौ ४ गतेसम्मको विवरणअनुसार विभिन्न देशबाट उद्धार उडानमार्फत नेपाल फिर्ता भएका नेपालीको संख्या ५१ हजार ९८७ रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्।

चार्टर्ड उडानको तालिका आउँदै

भदौ १६ देखि शुरु हुने नियमित उडान अगाडि अर्थात् यही भदौ १५ र त्यसपछि नियमित उडानको समयमा पनि पीसीआर सहज नभएका मुलुकबाट चार्टर्ड उडान हुने भएको छ। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चाटएर्ड उडान हुन लागेको हो। नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार उडानमार्फत नेपालीलाई स्वदेश फर्काउनेछन्।

नेपाल एयरलाइन्सले उद्धार उडानको तालिका बनाइरहेको छ। निगमका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले आजसम्म चार्टर्ड उडानको तालिका बन्ने जानकारी दिए। यस्तै हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडानको तालिका बनाउनेछ। पर्यटन मन्त्रालयको अनुमतिमा चार्टर्ड उडान तालिका बनाइनेछ। कुन मुलुकबाट कति संख्यामा चार्टर्ड उडान गर्ने भन्ने टुङ्गो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell