PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय १२ पुग्यो



फूलमाया पुरी

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय १२ पुग्यो

विराटनगर : विराटनगर महानगरपालिकामा पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढेको छ। महानगरपालिकाका अनुसार हालसम्म ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये १ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितहरुमध्ये ३ सय २५ जना होम आइसोलेसनमा बसेका छन्। होम आइसोलेसनमा एक सय ९४ महिला र एक सय ३४ पुरुष रहेको महानगरपालिकाले जनाएको छ।

होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई महानगरपालिकाले निगरानी गरिरहेको र उपचारका लागि अत्यावश्यक औषधिका सामाग्री उपलब्ध गराउँदै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताए।

‘हामीले हाम्रो सम्पर्कमा आएका प्रत्येक संक्रमितलाई महानगरबाट प्रदान गरिने अत्यावश्यक औषधिसहितको फलोअप गरिरहेका छौँ’, पोखरेलले भने, ‘यदि कोही छुट्नु भएमा सम्पर्क गर्न सक्नुहुनेछ।’

त्यस्तै, महानगरपालिका आफैले व्यवस्थापन गरेको तीन स्थानका होल्डिङ आइसोलेसनमा ९० जना संक्रमितहरु उपचाररत छन्। जसमध्ये २० बेड क्षमता भएको स्वास्थ्य चौकी बैजनाथपुरमा १० जना संक्रमित उपचाररत छन्। त्यस्तै, ४० बेड क्षमता भएको काली सेवा सदनमा ३६ जना संक्रमित रहेका छन् भने ४० बेड मात्र क्षमता भएको मारवाडी सेवा सदनमा ४४ जना संक्रमित रहेको विराटनगर महानगरपालिकाको तथ्यांक छ।

होल्डिङ आइसोलेसनमा ५ वर्षमुनिका ४ जना संक्रमित बालबालिका उपचाररत रहेका छन्।

जनताका निम्ति जे गर्न पनि तयार भएकाले कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउन महानगरपालिका लागि परिरहेको विराटनगर महानगर प्रमुख भीम पराजुलीको भनाइ छ।

‘समुदायस्तरमा कोरोना संक्रमण उच्च दरमा फैलिएकाले हामीले होल्डिङ आइसोलेसनको व्यवस्था गरेका हौं,’ प्रमुख पराजुलीले भने।

त्यसैगरी, महानगरपालिकामा हालसम्म ५ हजार ७ सय ७ पीसीआर परीक्षण भएको छ।

आइतवार दुई वर्षीय बालकसहित ४१ जनामा संक्रमण पुष्टि

विराटनगर महानगरपालिकामा आइतवार देखिएका ४१ जनासहित संक्रमितको संख्या ८ सय १२ पुगेको हो। १६ महिला र २५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरमा संक्रमितको संख्या ८ सय १२ पुगेको महानगरपालिकाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिए।

कुइकेलका अनुसार आइतवार दुई वर्षका बालकदेखि ६७ वर्षका पुरुषलाई कोरोना संक्रमण देखिएको छ। आइतवार ८ नम्बर वडामा सबैभन्दा बढी १२ जना कोरोना भाइरसका संक्रमित फेला परेको बताए।

त्यस्तै, १५ नम्बर वडामा ६ जना, ११ नम्बर वडाका ५ जना र १० र १ नम्बर वडाका ३र३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, वडा नम्बर २, ४, ७, ९ र १८ का २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ३, ६, र १२ का १/१ जनामा कोरोना संक्रमण देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell