PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा थप एकजना संक्रमितको मृत्यु, परिवारका सदस्यहरुमा पनि कोभिड १९ पोजेटिभ



फूलमाया पुरी

विराटनगरमा थप एकजना संक्रमितको मृत्यु, परिवारका सदस्यहरुमा पनि कोभिड १९ पोजेटिभ
प्रतीकात्मक फोटो।

विराटनगर : विराटनगर महानगरपालिकाका एक जना कोरोना संक्रमितको कोशी अस्पताल कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ।

विराटनगर महानगरपालिका ८ नम्बर वडाका ६५ वर्षीय पुरुषको मृत्यु भएको वडा अध्यक्ष निश्चल अर्यालले जानकारी दिए।

उनका अनुसार ती व्यक्तिमा आइतवार दिउँसो कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको थियो। ती व्यक्तिसँगै उनका परिवारका थप तीन जनामा हिजै कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै कन्ट्र्याक्ट ट्रेसिङमा परेकाले कोरोना परीक्षण गरिएको थियो।

ती व्यक्तिका एक छोरामा तीनदिन अघि नै कोरोना संक्रमण देखिएपछि परिवारका सबैको स्वाब संकलन गरिएको वडा अध्यक्ष अर्यालले बताए।

‘संक्रमण देखिएपछि उनका छोरा होम आइसोलेसनमा बस्दै आएका थिए,’ अर्यालले भने, ‘हिजो थप ४ जनाको रिपोर्ट पोजेटिभ आयो।’

आइतवार मृतक, उनकी श्रीमती, बुहारी र दुई वर्षीय नातिमा कोरोना संक्रमण देखिएको थियो। सबैजना होम आइसोलेसनमा बसेका थिए।

उनकी श्रीमतीले नै उपचारका लागि अस्पताल लैजान अनुरोध गरेकाले साँझ करिब ६:३० बजे कोभिड उपचार केन्द्र लगिएको थियो।

‘आफ्नो श्रीमानको उमेर बढी भएका कारण स्वास्थ्यमा समस्या आउने डरले उहाँको श्रीमतीले भनेपछि अस्पताल लगिएको हो,’ उनले भने, ‘उहाँ आफै एम्बुलेन्स चढेर जानुभएको थियो, कसरी त्यति चाँडो मृत्यु भयो?'

आइतवार साँझ ६:४५ कोशी अस्पताल कोभिड उपचार केन्द्र पुगेका ती व्यक्तिक राति ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

यसअघि पनि ८ नम्बर वडाका एक जना संक्रमितको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित रहेका छन्। जसमध्ये अधिकांश होम आइसोलेसनमा रहेको वडा अध्यक्ष अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell