काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै गएपछि अछामका स्थानीयह तहहरु मिलेर आरटी-पीसीआर प्रयोगशाला सञ्चालनको तयारी गरेका छन्।
कमलबजार नगरपालिकाको पहलमा पञ्चदेवलन विनायक नगरपालिका, तुर्माखान र ढकालरी गाउँपालिका मिलेर कमजलबजारमा पीसीआर प्रयोगशाला सञ्चालनको तयारी गरेका हुन्।
कमलबजार गाउँपालिकाका मेयर ओमप्रकाश विष्टका अनुसार चीनबाट प्रयोगशालाका मेसिन खरिद भइसकेको र कतिपय मेसिन कमलबजार पुगिसकेको छ।
'अरु सामाग्री तथा उपकरण आइसकेका छन्। एउटा मेसिन विमानस्थल भन्सारमा आइपुगेको छ। त्यो भोलिसम्म (सोमवार) सम्म आइपुग्ला,' उनले भने।
नगरपालिकाले प्रयोगशालामा काम गर्ने प्राविधिकको भर्ना प्रक्रियासमेत सुरु गरिसकेको उनले जानकारी दिए। 'आज (सोमवार) सम्म आवेदन दिने समय छ। भोलि हामीले छनोट गर्छौं,' मेयर विष्टले भने।
आरटी-पीसीआर मेसिन खरिदका लागि असार ८ गते स्थानीय दैनिक पत्रिकामा कमलबजार नगरपालिकाले रामारोसन दैनिकमा तीन दिने सूचना प्रकाशित गरेको थियो। नगरपालिकाको बोर्ड बैठकले १४ गते काठमाडौं कोटेश्वरको सगरमाथा वायो मेडिकल इन्जिनियरिङ सर्विसेस कन्सर्नलाई ७९ लाख ४३ हजार ९०० रुपैयाँमा खरिद गर्ने वोलपत्र स्वीकृत गरेको थियो।
खरिदका लागि ढकारी गाउँपालिकाबाट १० लाख रुपैयाँ प्राप्त भएको र तुर्माखान र पञ्चदेवल विनायकले पनि बजेट छुट्याएको कमलबजार नगरपालिकाका मेयर विष्टले जानकारी दिए।
अछाममा १७७ महिला र ६५५ पुरुष गरी ८३२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। अछाममा प्रयोगशाला नहुँदा संक्रमितको पहिचानमा कठिन भएको तथा क्वारेन्टाइनमा रहेकालाई आरडीटीको भर परेर पठाउन बाध्य भएकोले पीसीआर प्रयोगशाला स्थापना गर्न लागिएको उनले बताए।
'न माथिबाट हेरियो। परीक्षणका लागि धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता, समयमै परीक्षण नहुने समस्या उस्तै,' उनले भने, 'त्यसैले आफ्नै प्रयोगशाला स्थापनाका लागि काम अगाडि बढायौं।'
हालसम्म कमलबजार नगरपालिकामा एक हजार ४०० जनाको पीसीआर परीक्षणका गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। उनीहरु सबै डिस्चार्ज भइसके पनि नयाँ परीक्षण नहुँदा संक्रमण कति छ थाहा नभएको उनी बताउँछन्।
'सुरुमा हामीले क्वारेन्टाइनमा रहेकालाई आरडीटी परीक्षण गरेर पठायौं। लकडाउन खुलेपछि करिब ३०० जना भारतबाट आएका थिए। उनीहरुलाई पनि आरडीटी गरेर पठायौं,' उनले भने, 'परीक्षण गर्न बाहिर पठाउनुपर्ने। हामीले पठाएर मात्र पनि नहुने। यहाँ हामीलाई परीक्षण विना पठायो भनेर गाली गर्ने त्यसैले पनि प्रयोगशाला ल्याउन लाग्यौं।'
