वीरगंज : वीरगंज महानगरका मेयर विजयकुमार सरावगी २५ दिनपछि कोरोना संक्रमणलाई जितेका छन्। कोभिड १९ को संक्रमण भई काठमाडौं र वीरगंजको होम आइसोलेसनमा बस्दै आएका सरावगी आइतवार नारायणी अस्पतालमा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएको जानकारी गराएका हुन्।
वीरगंज महानगरको कामकाजलगायत राहत वितरण कार्यक्रममा उनी संक्रमित हुन पुगेका थिए। त्यसपछि उनको बुवा, आमा पत्नीलगायत वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोलगायत अधिकांश कर्मचारी एवं चार वटा वडाका वडा अध्यक्ष समेत संक्रमित भएका थिए। उनले पुनः आफू स्वस्थ रहेकोले वीरगंजको नेतृत्व लिने विश्वास व्यक्त गरे।