काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको छलफल अन्तिम समयमा स्थगित भएको छ।
११ बजेका लागि तय भएको छलफल भोलि बिहान बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले आजको छलफल स्थगित हुनुको कारण भने खुलाएनन्।
‘आज छलफल गर्ने कुरा भएको थियो। कार्यव्यस्तताले अन्तिम समयमा स्थगित भयो। अध्यक्षद्वयबीच भोलि बिहान कुरा हुन्छ,’ थापाले भने।
प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच पार्टीको विवाद सुल्झाउन बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तय भएको थियो।
विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन बुझाएको थियो।
नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुचारु हुन सकेको छैन। बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो।
कार्यदलले ओलीले ५ नै वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ। पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ।
कार्यलदलका सदस्यहरुले आफूहरुले बुझाएको प्रतिवदेनले पार्टी विवाद सुल्झने दावी गर्दै आएका छन्। उक्त प्रतिवेदन ओली प्रचण्डको छलफलपछि सचिवलय बैठकमा पेश हुनेछ। सचिवालयमा छलफलपछि स्थायी कमिटीबाट पारित गरिने नेताहरु बताउँछन्।
