कोभिड १९ को महामारीका कारण सिनेमाघर बन्द छन्। फिल्महरु ओटीटी प्ल्याटफर्ममा प्रदर्शन भइरहेका छन्। ठूला फिल्म भने सिनेमाघरमै प्रदर्शन हुने भनेर रिलिज डेट सारिरहेका छन्।
२४ मार्चमा प्रदर्शनमा आउने भनिएको अक्षय कुमारको बहुप्रतिक्षित फिल्म 'सूर्यवंशी'को रिलिज डेट सर्यो। अगस्टसम्म आइपुग्दा हल खुल्ने सुरसार छैन। फिल्म ओटीटी प्ल्याटफर्ममा रिलिज हुने खबरहरु पनि आए।
तर, प्रोडक्शन हाउसले भने 'सूर्यवंशी' दिपावलीमा सिनेमाघरमै प्रदर्शनमा आउने आशा व्यक्त गरेको छ।
साथै कपिल देवको नेतृत्वमा विश्वकप क्रिकेट जितेको कथामा आधारित रणवीर सिंहको फिल्म '८३' क्रिसमसमा हलमै रिलिज हुने जनाइएको छ।
रिलायन्स एन्टरटेनमेन्टको ट्विटर ह्याण्डिलमा लेखिएको छ, 'हामी यो कुरालाई लिएर आश्वस्त छौं कि हाम्रो फिल्म 'सूर्यवंशी' दिवालीमा र '८३' क्रिसमसमा रिलिज हुने मितिसम्म वर्तमान समयमा बन्द अवस्थामा रहेका सिनेमाघरको स्थितिमा सुधार हुनेछ।'
We are very confident that the ongoing theatrical exhibition situation will improve much in time for the release of our awaited films, Sooryavanshi and 83, this Diwali and Christmas, respectively. pic.twitter.com/sHr0fhMgBm
— Reliance Entertainment (@RelianceEnt) August 23, 2020
शनिवारमात्रै प्रोडक्सन हाउस समूहका सीईओले आफूहरु सिनेमाघरमै फिल्म रिलिज गर्न प्रतिबद्ध रहेको बताएका थिए। अब मिति सार्ने पक्षमा आफूहरु नरहेको उनको भनाई थियो। दर्शकले फिल्मलाई दिपावली र क्रिसमसमा ठूलो पर्दामा देख्न पाउने उनको विश्वास छ।
रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म 'सूर्यवंशी'मा अक्षय कुमार र कटरीना कैफ मुख्य भूमिकामा छन्। अजय देवगन र रणवीर सिंह पनि सानो रोलमा छन्।
कबीर खानको निर्देशनमा बनेको फिल्म '८३' को कथा १९८३ मा भारतीय क्रिकेट टिमले वर्ल्ड कप जितेको घटनामा आधारित छ। फिल्ममा रणवीर सिंह कपिल देवको भूमिकामा देखिनेछन्।
