काठमाडौं : बुधवार राति करिब पौने ९ बजेतिर भएको ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या अनुसन्धानलाई प्रहरीले तीव्र बनाएको छ। अहिले चौतर्फी रुपमा दवाव सुरु भएपछि प्रहरीले घटनालाई प्राथमिकताको साथ हेरिरहेको छ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी साहको बुधवार गोली प्रहार गरी हत्या भएको थियो। अहिलेसम्म हत्याको कारण भने खुलिसकेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
साहले पूजा गर्दै आएको हनुमानको मन्दिर उनको घरबाट झन्डै १ किलोमिटर पर रहेको छ। उनी मन्दिरमा नै बस्दै आएका थिए। घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने कारणले समेत भएको हुनसक्ने अनुमान भइरहेको छ। प्रहरीले यसकोणबाट पनि अनुसन्धान गरिरहेको छ।
'बाहिर यस्ता कुरा पनि आएका छन्। तर हाम्रो अनुसन्धानले अहिलेसम्म धार्मिक विषयलाई लिएर हत्या भएको देखिँदैन,' रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले भने।
घटनाको प्रकृति हेर्दा कसैले योजनावद्ध रुपमा नै हत्या गरेको देखिन्छ। केही मिटरको दुरीबाट गोली प्रहार भएको छ। गोली प्रहार तर्साउनका लागि भन्दा पनि मार्ने उद्देश्यले नै भएको देखिन्छ। 'घटना धेरै कुराहरु आएका छन्। तर अहिले नै यही हो भन्ने अवस्था छैन। हामी लागिरहेका छौं,' एसपी खड्काले भने।
माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह एक्लै बस्दै आएका थिए। उनकी श्रीमतीको केही समय अगाडि नै मृत्यु भइसकेको छ। उनका छोराछोरी समेत छैनन्। उनका दाजुभाइ मन्दिर नजिकैको गाउँमा बस्दै आएका छन्।
