PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६६ मा कोभिड-१९ को संक्रमण : कुन स्थानीय तहमा कति संक्रमित?



पहिलोपोस्ट

कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६६ मा कोभिड-१९ को संक्रमण : कुन स्थानीय तहमा कति संक्रमित?

काठमाडौं : कर्णाली प्रदेशमा हालसम्म दुई हजार २४० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमित पहिचान भएकामध्ये ८४ जना अन्य प्रदेशका हुन् भने बाँकी दुई हजार १५६ जना कर्णाली प्रदेशका नै हुन्।

आइतवारसम्मको अध्यावधिक विवरणअनुसार कर्णाली प्रदेशमा एक हजार ९६९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

त्यस्तै हाल कर्णाली प्रदेशमा २६५ जना संक्रमित उपचारकै क्रममा रहेका छन्।

जिल्लागत विवरण

कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेख जिल्लामा संक्रमित पहिचान भएका छन्। सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार दैलेखमा एक हजार ३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन कर्णाली प्रदेशको कुल संक्रमित संख्याको ४४.८ प्रतिशत हो। 

त्यस्तै सुर्खेतमा ६०९ जनामा संक्रमण पहिचान भएको छ। जुन २७.२ प्रतिशत हो। सल्यानमा ११.६ प्रतिशत अर्थात २६० जना संक्रमित पहिचान भएका छन्। जुम्लामा ११३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन कुल संक्रमितको ५ प्रतिशत हो। 

कुन स्थानीय तहमा कति?

कर्णाली प्रदेशमा १० जिल्लामा ७९ स्थानीय तह रहेकोमा ६६ वटा स्थानीय तहमा कोभिड-१९ का संक्रमित पहिचान भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रदेशभित्रका दुई हजार १५६ संक्रमितमध्ये दैलेख जिल्लाको नारायण नगरपालिकाका सबैभन्दा बढी संक्रमित छन्।

नारायण नगरपालिकामा ३०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा २०० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै दैलेखकै महाबु गाउँपालिकामा १८९ जनामा संक्रमण पुष्टि भएको छ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा १७९ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। दैलेखकै नोमुले गाउँपालिकामा १५१ र दुल्लु नगरपालिकामा १४० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell