काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन्। १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाई छ।
पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनि देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनले जानकारी दिए। न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे।
उनले भने, ‘मैले धेरैसँग परामर्श गर्दै छु। उनीहरु तपाई नै उठ्नुपर्यो भन्नुहुन्छ। तर मैले धेरै साथीहरुको दावी छ भन्छु। रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ। प्रकाशमान छन्। धेरे छन्। सबै उठेर त भएन नी। हाम्रो लक्ष्य के हुनुपर्यो भने हामी सबै मिलेर एक जना उठ्नुपर्यो। त्यसका लागि आपसमा वार्ता हुनुपर्यो। वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ। व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाईले पनि सक्नुहुन्न। अरु जो पनि कसैले पनि सक्दैन। यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन।’
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए। सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाई छ। पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए।
महामन्त्री कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न्। महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो। किन कि अरु विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो। तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो।’
‘अहिले विभाग गठन भइरहेको छ। यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो, भोटका लागि। भोलि महाधिवेशन आउँदैछ। त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो। विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ। मनपरी गर्दै हुनुहुन्छ। भेटेर पनि भनेका छौँ। अहिले नबनाउनुस् अहिले बनाएर के गर्न सक्नुहुन्छ। ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन,’ उनले थपे, ‘आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन। भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ। सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुपर्यो। जिल्लाका सबै एकाइको हुनुपर्यो। क्रियाशित वितरण सहि किसिमले गर्नुपर्यो। धेरै जिल्लामा समस्या छ। समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडि बढ्नुपर्यो। यो क्रियाशलि दिने त वडाले हो। १०—१० लाख क्रियाशिल बनाउँदा गाइजात्रा हुने डर छ। नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ। क्रियाशिल दिनुभएको छ। आउनेहरु क्रियाशिल हुन कि होइनन भनेर पनि पुष्टि गर्नुपर्यो।’
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाई छ। आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दावी कोइरालाले गरे।
तोकिएकै मिति फागुन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानमा ल्याउन सकिने उनले बताए। कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
कोइरालाले अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको तर्क गरे। सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उनको आरोप छ। देश संघीय संरचनामा गएपछि कम्युनिस्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उनले आरोप लगाए। लोकतन्त्रलाई जोगाउन भए पनि अहिले डेमोक्र्याटिक अलाइन्स आवश्यक रहेको पनि कोइरालाले बताए।
उनले भने, ‘लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ। डेमेक्रेसी अहिले पनि खतरामा छ। कम्युनिस्टहरु डेमेक्रेसीमा विश्वास गर्दैनन, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन्। त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो।’
