काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ५२ जिल्लामा कोभिड-१९ का संक्रमितहरु पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट १० हजार २३४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २४६ महिला र ४९७ पुरुष गरी ७४३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार थप ८ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १७५ जना निको भएर घर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ। जुन कुल संक्रमितको ५८ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित पहिचान भएका छन्।
काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिएका छन्। वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा २८९ जना कोभिड-१९ का संक्रमित पहिचान भएका हुन्।
जसमध्ये काठमाडौं उपत्यकामा मात्र २२४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी संक्रमित पुष्टि हुने जिल्ला काठमाडौं हो। लगातार दुई साता देखि काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएको छ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा १७७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यसैगरी, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वाग्मतीपछि प्रदेश २ मा १७१ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ मा सबैभन्दा बढी बारा जिल्लामा ९४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १०७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये कैलालीमा ७९ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश १ मा ७२ जना संक्रमित पहिचान भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये मोरङमा मात्र ३१ जना रहेका छन्।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश ५ मा ३८, गण्डकीमा १५ जनामा संक्रमण पुष्टि भएको छ।
हाल संक्रमितमध्ये १३ हजार ७१५ आइसोलेसनमा रहेका छन्। जसमध्ये १३८ जनाको उपचार आइसीयूमा राखेर भइरहेको छ। त्यसमध्ये १५ जनाको उपचारमा भेन्टिलेटरको प्रयोग भइरहेको छ।
प्रदेश १ मा १८, प्रदेश २ मा ४६, वाग्मतीमा ५७, गण्डकीमा ३ र प्रदेश ५ मा १४ जनाको उपचार आइसीयूमा भइरहेको प्रवक्ता गौतमले जानकारी दिए। जसमध्ये वाग्मती प्रदेशका १५ जनाको उपचारमा भेन्टिलेटरको सहायता लिइएको छ।
हाल सात वटा जिल्लामा ५०० बढी एक्टिभ केस रहेका छन्। मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा र काठमाडौंमा हाल ५०० बढी एक्टिभ केस रहेको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै हाल मुस्ताङ र हुम्लामा सक्रिय संक्रमितको संख्या सून्य छ।

