
सल्यान : बाफुखोलामा पहिरोले लघुजलविद्युतको नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। स्थानीय ओख्रेनी खोलाबाट निकालिएको जलविद्युत् यही भदौ ३ गते आएको अविरल वर्षापछिको पहिरोले नहर तथा विद्युतका खम्बासमेत बगाएपछि तीन सय घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो।
पहिरोले नहर तथा विद्युतका ६५ पोल तथा तारसमेत बगाएपछि विद्युत् अवरुद्ध भएको विजय लघु जलविद्युत् केन्द्रका अध्यक्ष सुनिल केसीले जानकारी दिए। पहिरोले विद्युतका पोल बगाएपछि तारसमेत तहसनहस भएको केसीको भनाइ छ।
‘अविरल वर्षाका कारण विद्युत् उत्पादन गृहमा समेत क्षति पुगेको छ, बाढी नै उत्पादन गृहमा पसेपछि क्षति पुगेको छ,’ अध्यक्ष केसीले भने।
बाढीका कारण विद्युत् उत्पादन गृहसमेत जोखिममा रहेको अध्यक्ष केसीले बताए।
‘दुई खोलाबाट आएको बाढी उत्पादन गृहमा पसेको छ, यसले भवनसमेत उच्च जोखिममा छ, यसलाई मर्मतसम्भार नगरी विद्युत् उत्पादन गर्न सकिने अवस्था छैन,’ उनले भने।
ओखेरनी, दोभान बजार, देउपरी बस्तीमा पहिरोले ठूलो क्षति पुर्याएकाले बाँकी रहेका विद्युतका पोलसमेत स्थानान्तरण गर्नुपर्ने अवस्था हुँदा समस्या रहेको बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपककुमार वलीले जानकारी दिए।
‘पहिरो तथा बाढीले अहिले वडा नम्बर १२ का ७५ प्रतिशत जनता प्रभावित भएका छन्, त्यसमा विद्युत् पनि नराम्ररी प्रभावित भएकाले तत्काल मर्मतसम्भार गरेर बत्ती बाल्न सकिने अवस्था छैन,’ वडाध्यक्ष वलीले भने।
विद्युतमा मात्रै पहिरोले करिब २० लाख बराबरको क्षति पुर्याएको वडाध्यक्ष वलीको भनाइ छ।