PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुरुङमार्ग निर्माणका लागि जनशक्ति तयार पारिँदै, ६० इन्जिनियरलाई नागढुंगा-नौबिसे सुरुङमार्गमा तालिम दिइने



दिनेश खड्का

सुरुङमार्ग निर्माणका लागि जनशक्ति तयार पारिँदै, ६० इन्जिनियरलाई नागढुंगा-नौबिसे सुरुङमार्गमा तालिम दिइने

काठमाडौँः मुलुकभित्र सुरुङमार्ग निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गरिने भएको छ। हाल सडक सुरुङमार्ग निर्माणका लागि आवश्यक जनशक्ति छैनन्। अहिलेसम्म जलविद्युतको सुरुङमार्ग निर्माण गर्ने इन्जिनियर मात्रै छन्।

जनशक्ति अभावका कारण सरकार विदेशीको भर पर्नुपर्ने अवस्था छ। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण अघि बढेपछि सरकारले ६० जना इन्जिनियरलाई तालिम दिने भएको छ।

सडक विभाग अन्तर्गतको वैदेशिक सहयोग कार्यान्वयन महाशाखाले मन्त्रालयका इच्छुक ६० जना इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिन लागेको हो। महाशाखाका प्रमुख अर्जुनजंग थापाले क्षमता अभिवृद्धिका लागि साइटमै लगेर तालिम दिन लागिएको बताए। उनका अनुसार सैद्धान्तिक र प्रयोगात्मक (प्राक्टिकल) दुवै तालिम दिइनेछ।

मुख्य सुरुङमार्गको काम सुरु भएसँगै तालिम पनि सुरु गर्ने योजना छ। थापाका अनुसार मुख्य सुरुङको काम सुरु भएकै दिनबाट इन्जिनियरहरुको तालिम पनि सुरु हुनेछ। प्रत्येक दुई सातामा तीन दिन तालिम सञ्चालन हुनेछ।

'टनेलको मुख्य द्वार कसरी बनाउने रहेछ भनेर फिल्डमा लगेर देखाइन्छ। त्यसपछि सैद्धान्तिक अध्यापन हुनेछ,' उनले भने,' अर्को साता दुई सातामा २० देखि ५० मिटरसम्म सुरुङमार्गको काम हुन्छ। त्यहाँ पनि प्रयोगात्मक नै देखाइन्छ।'

आयोजना निर्माण अवधिभर तालिम सञ्चालन हुने जानकारी उनले दिए। 'टनेलको मुख निर्माणदेखि फिनिसिङसम्मको काम देखाउने योजना छ,' उनले भने, 'सुरुङमार्ग सम्बन्धी सबै खालका ज्ञान दिइनेछ।'

तालिम जापानी र नेपाली प्रशिक्षकले दिनेछन्।

'हाम्रो जियोलोजिकल सोसाइटीका जलविद्युतको सुरुङमा काम गरेका इन्जिनियर र जापानी इन्जिनियरले पढाउने छन्,' थापाले भने। नागढुंगा-नौबिसे सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग पनि हो। यो सुरुङमार्ग निर्माण पूरा भएसँगै नेपालमा आवश्यक जनशक्ति तयार हुने विश्वास लिइएको छ।

उनका अनुसार तीन वर्षमा सुरुङमार्ग निर्माण गर्ने जनशक्ति तयार हुनेछन्। कोरोना संक्रमणसँगै यो सुरुङमार्गको कामले गति भने लिएको छैन। सुरुङमार्ग निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिइसकेको छ। नेपाली सेना ब्लास्टिङका लागि आवश्यक विस्फोटक पदार्थ दिन सहमत भइसकेको छ।

यो सुरुङमार्ग निर्माण भएपछि नेपाली सक्षम हुने उनको दाबी छ। त्यस्तै महाशाखा प्रमुख थापाकै संयोजकत्वमा सुरुङमार्ग निर्माण सम्बन्धी मापदण्ड समेत तयार भएको छ। उक्त मापदण्ड मन्त्रिपरिषद्ले समेत स्वीकृत गरिदिएको छ।

उक्त योजना अघिसम्म नेपालमा सुरुङमार्ग निर्माण सम्बन्धी कुनै मापदण्ड थिएन। नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्राष्ट्रिय मापदण्डका आधारमा निर्माण अघि बढाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell