
- नारायण अधिकारी-
चितवन : कोरोना संक्रमित बढ्दै गएपछि प्रयोगशालामा स्वाबको चाप बढ्दा परीक्षणको नतिजा आउन ढिलाई हुन थालेको छ। नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरिएको छन्।
पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पीसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग गरेको बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको बताए।
उनले चार नगरप्रमुखहरुको बैठकले वाग्मती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए। भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउँछन्।
उनले भने, ‘सोमवार नमूना पठाएको नतिजा हिजो प्राप्त गरेका छौँ, महानगरका ३ सय स्वाबको नतिजा आउन अझै बाँकी छ।’
जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला रहेको छ। भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमुना संकलनको चाप बढेको छ। प्रयोगशाला प्रमुख डा नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमुना परीक्षण गर्न सक्ने बताउँछिन्। नमुनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उनले बताइन्।
पाँचवटा सम्म नमुनालाई मिसाएर परीक्षण गरिने गरेको छ। सबै नमुनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमुना परीक्षण गर्न कठिन भएको अधिकारीको भनाइ छ। प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेका छन्।
उनले भनिन्, ‘रात दिन काम गरिरहेको भएपनि समयमा नतिजा दिन सकेका छैनौँ।’
हाल प्रयोगशालामा ९ सय भन्दा बढी नमुना परीक्षणका लागि पालोमा राखिएको छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी अस्पतालहरुमा संक्रमण फैलँदा बन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमुना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टाइनमा बसेकाहरुको नतिजा आउन ढिला भएको बताउँछन्।
उनले भने, ‘चिकित्सक, स्वास्थ्यकर्मीको परीक्षण गरेर जति सक्दो छिटो अस्पताल खोल्नुपर्ने बाध्यताका कारण क्वारेन्टाइनका नमुनाको नतिजा आउन ढिलाई भएको हो।’
जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालनमा ल्याएको छ। सो प्रयोगशालामा ६ घण्टामा ४ सय जनाको परीक्षण गर्न मिल्छ।
सरकारी तवरबाट संकलन भएका नमुना पठाएमा आफुहरु परीक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले बताए। उनका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परीक्षण गर्न आउनेहरु दैनिक २ सय हाराहारी छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा रुना झा सामान्यतया ७२ घण्टा भित्र नतिजा दिने गरी काम गर्नुपर्ने बताउँछिन्। त्यहाँ बढी चाप भएमा नमुना यहाँ पठाउन आफुले भनिसकेको उनले बताइन्। सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। निजी प्रयोगशालामा भने हालसम्म नपठाइएको उनले बताइन्।
यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँंगै छिमेकी जिल्लाबाट समेत नमुना पठाइने गरेको छ। चैत अन्तिम साता शुरु भएको सो प्रयोगशालाले हालसम्म १८ हजार नमुना परीक्षण गरीसकेको छ।
जिल्लामा पछिल्ला दिनहरुमा संक्रमण बढ्दो छ। हालसम्म ३६८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने तीन जनाको मृत्यु भएको छ। अस्पतालमा संक्रमण फैलिएपछि आकस्मिक बाहेकका सेवा बन्द भएका भरतपुर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हाल सञ्चालनमा आएका छन्।