चार्लोट्टे : दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पलाई रिपब्लिकन पार्टीले उम्मेदवार अनुमोदन गरेको छ। पार्टीको नेसनल कन्भेन्सनको पहिलो दिन सोमवार ट्रम्पलाई आसन्न राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको हो।
गत साता डेमोक्रेटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपति उम्मेदवार मनोनित गरिसकेको छ। बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गरेको भएकी कमला ह्यारिसलाई पनि अनुमोदन गरिसकेको छ।
नेसनल कन्भिन्सनमा राष्ट्रपति ट्रम्पले 'अर्को चार वर्ष, अर्को चार वर्ष' भन्दै नारा लगाएका थिए। उनले डेमोक्रेटिक पार्टीले निर्वाचनबाट कोरोना भाइरसको पेन्डेमिकमा मतदाता पुग्न नसक्ने अवस्था ल्याएर 'चोर्न' खोजेको आरोपसमेत लगाएका छन्। 'उनीहरुले हामीबाट खोस्ने एकमात्र आधार भनेको धाँधली हो,' ट्रम्पले भने।
त्यसो त ट्रम्पले झुटा र कपोलकल्पित दावी गर्दै पहिलो कार्यकालमा निर्वाचित हुनुअघि नै त्यहाँको निर्वाचन कार्यालयविरुद्ध अभिव्यक्ति दिँदै आएका हुन्। चुनावी सर्वेक्षणहरुमा पछि पर्दै जाँदा उनले त्यस्ता अभिव्यक्ति दिने गरेका थिए।
चार्लोट्टेमा ट्रम्पलाई उम्मेदवार घोषणा गर्दाको माहोल भने उत्साहजनक देखिएको थियो।
'हाम्रो पार्टी एक छ, हाम्रा समर्थकहरु जोशिला छन् र राष्ट्रपतिमा ट्रम्प र उप राष्ट्रपतिमा माइक पेन्सलाई अबको ७० दिनमा पुन: निर्वाचित गराउन हामी निर्धक्क छौं,' पार्टीका अध्यक्ष रोन्ना म्याकडानियलले घोषणा गरिन्।
कोरोना भाइरसका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार भने सानो बनाइएको थियो।
यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वका रुपमा हेरिएको छ। पछिल्ला पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको तुलनामा कमजोर देखाएको छ।
विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ। उनले यसअघि अघि सार्नु भएका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोना भाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको विषयलाई अमेरिकी नागरिकले कसरी हेर्छन् भन्ने पनि यो निर्वाचन परिणामले देखाउने छ। साथै अस्वेत समुदायकाप्रति अनुदार रहेका ट्रम्पको नीतिको पनि परीक्षण हुनेछ।
रिपब्लीकन पार्टीका अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताएकी छिन्।
चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् ।
