काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
दुई अध्यक्षबीच हिजो छलफल हुने भने पनि स्थगित भएको थियो। ओली र प्रचण्डबीच पार्टीको विवाद सुल्झाउन बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रचण्ड बिहान ९:३० बजे बालुवाटार पुगेका हुन्।
विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन बुझाएको थियो।
नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुचारु हुन सकेको छैन। बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो।
विवाद सुल्झाउन गठित कार्यदलले ओलीले ५ नै वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ। पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ।
प्रतिवेदनमाथि अध्ययन पछि दुई अध्यक्ष छलफलका लागि जुटेका हुन्। अध्यक्षद्वयबीच बालुवाटारमा केहीबेर अघि छलफल सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
