PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

भीम रावल भन्छन्, 'एमसीसीमा मेरो दृष्टिकोण र अडान यथावत छ'



पहिलोपोस्ट

भीम रावल भन्छन्, 'एमसीसीमा मेरो दृष्टिकोण र अडान यथावत छ'

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले नेपाल र अमेरिकाको मिलेनियम च्यालेञ्‍ज कम्प्याक्ट (एमसीसी) सम्झौतामा आफ्नो अडान यथावत रहेको बताएका छन्।

नेकपा विवाद सुल्झाउन गठित रावल सदस्य रहेको कार्यदलले एमसीसी अनुमोदन गर्न सुझाव दिएका बेला उनले ट्वीटरमा लेखेका छन्, 'सार्वमौमसत्ता, स्वतन्त्रता, स्वाधिनता, अखण्डता र स्वाभिमान विपरीत कसैसँग सम्झौता हुनसक्दैन, त्यस्तो कसैले गरे मानिँदैन।'

एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदनमा पनि नेपालको हित र कानून विपरीतका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर अनुमोदन गर्न मिल्ने भन्‍ने आफ्नो धारणा रहेको र त्यसमा आफू कायम रहेको रावलको स्पष्टोक्ति छ। उनले अहिलेकै अवस्थामा अनुमोदन गर्न आफूले सहमति नजनाएको पनि स्पष्ट पारेका छन्।

विवाद मिलाउन गठित कार्यदलले पनि सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै अनुमोदन गर्न अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई सुझाव दिएको छ।

सुझावमा भनिएको छ, 'एमसीसी सम्झौता संसदबाट अनुमोदनको लागि विचाराधीन अवस्थामा छ। उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो। कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ। एमसीसी सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने। उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने।'

कार्यदलमा रावलसहित महासचिव विष्णु पौडेल (संयोजक), सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell