PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोभिड-१९ को पछिल्लो एक महिनाको ग्राफ:  २५६ प्रतिशतले मृत्यु बढ्यो, १४३०४ संक्रमित थपिए



विधुर ढकाल

 कोभिड-१९ को पछिल्लो एक महिनाको ग्राफ:  २५६ प्रतिशतले मृत्यु बढ्यो, १४३०४ संक्रमित थपिए

काठमाडौं : पछिल्ला तीस दिनमा मात्र नेपालमा अघिल्ला महिनासम्मको तुलनामा कोरोना भाइरस संक्रमित  ७७.८४ प्रतिशतले बढेका छन्।

साउन ८ गते देशभर १८ हजार ३ सय ७४ जना कोभिड-१९ का संक्रमित पहिचान भएकोमा भदौ ८ गते यो संख्या बढेर ३२ हजार ६ सय ७८ पुगेको छ। यो एक महिनामा देशभर १४ हजार ३ सय ४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

त्यस्तै, एक महिनामा संक्रमितको संख्यासँगै मृतकको संख्या पनि तेहोरो अंकले बढेको छ। साउन ८ गतेसम्मको तथ्यांकमा मृत्यु हुने संक्रमितको संख्या ४४ रहेकोमा यो एक महिनामा १ सय १३ जनाको मृत्यु हुँदै १ सय ५७ पुगेको छ। जुन एक महिना अगाडि भन्दा रहेको मृत्यु संख्या भन्दा २५६.८१ प्रतिशतले बढी हो।

यसबीच डिस्चार्ज हुनेको संख्या भन्ने घट्दै गएको छ। साउन ८ सम्म १२ हजार ९ सय ४२ संक्रमित डिस्चार्ज भएकोमा यो संख्या भदौ ८ मा १८ हजार ८ सय ६ पुगेको छ। यो एक महिनामा ५ हजार ४ सय २७ जना उपचारपछि घर फर्किएका छन्।  

संक्रमण नियन्त्रणतर्फ गएजस्तो देखिए पनि एक्कासी संक्रमितको संख्या उकालो लाग्दै जाँदा अस्पताल भरिएका छन्। संक्रमितको उपचारका लागि अस्पताल अभाव हुन थालेको छ। साउन ८ गते पाँच हजार ३ सय ८३ रहेको एक्टिभ केस बढेर एक महिनामा १३ हजार ७ सय १५ पुगेको छ।

डिस्चार्ज हुनेको संख्या ५७.५ प्रतिशत छ भने एक्टिभ केस ४२ प्रतिशत छ। मृत्यु हुनेमा कुल संक्रमितको ०.५ प्रतिशत रहेको छ।

प्रदेशगत अवस्था

संक्रमित पुष्टि भएको हिसाबले प्रदेश २ सबैभन्दा अगाडि छ। प्रदेश २ मा ९ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये पाँच हजार २ सय १८ संक्रमित उपचारकै क्रममा रहेका छन् भने चार हजार २ सय ४३ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। संक्रमितमध्ये ६५ जनाको प्रदेश २ मा मृत्यु भइसकेको छ।

एक्टिभ केसको हिसाबले दोस्रो स्थानमा छ वागमती प्रदेश। कूल संक्रमितमा चौथो स्थानमा रहेको वागमती प्रदेश एक्टिभ केस र मृत्यु संख्याका आधारमा दोस्रो स्थानमा छ। वागमतीमा पहिचान भएका चार हजार ८ सय ९ कूल संक्रमित मध्ये ७ सय ७५ मात्र निको भएका छन् भने ८ हजार ८ उपचारकै क्रममा छन्। मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रदेश १ 

प्रदेश १ मा पछिल्लो ३० दिनमा मात्र १९ जनाको मृत्यु भएको छ। ३० दिन अगाडि साउन १० गतेसम्म प्रदेशमा कसैको पनि मृत्यु भएको थिएन। हालसम्म प्रदेशमा दुई हजार ७ सय ९१ संक्रमित रहेकोमा १९ जनाको मृत्यु हुनुका साथै एक हजार ४ सय ९२ उपचारकै क्रममा छन्। संक्रमितमध्ये १ हजार २ सय ८३ डिस्चार्ज भएका छन्। ३० दिन अगाडि प्रदेशमा एक्टिभ केस १ सय ४५ मात्र थियो।

प्रदेश २ 

प्रदेश २ कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित प्रदेश हो। पछिल्लो ३० दिनमा मात्र प्रदेश २ मा ५५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। ९ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ मा पाँच हजार २ सय १८ जना अझै उपचारका क्रममा छन्। ३० दिन अगाडि एक्टिभ केस एक हजार ९ सय ९ थियो।

वागमती प्रदेश

पछिल्लो महिना सबैभन्दा बढी प्रभावित प्रदेश हो वागमती प्रदेश। ३० दिन अगाडि ९ सय १२ जना मात्रै संक्रमित पहिचान भएको वागमतीमा यसबीच संक्रमितको संख्या चार हजार ८ सय १५ पुगिसकेको छ। यो एक महिनामा मात्र तीन हजार ९ सय ३ जना संक्रमित थपिएका छन्। पछिल्लो एक सातामा मात्र वागमतीमा एक हजार ७ सय ६६ जना संक्रमित थपिएका छन्।

यो एक महिनामा प्रदेशमा २२ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

 

गण्डकी प्रदेश

कोभिड-१९ बाट सात प्रदेशमध्ये सबैभन्दा कम प्रभावित प्रदेश हो गण्डकी प्रदेश। गण्डकीमा हाल दुई हजार ११ जनामा संक्रमण पुष्टि भएको छ। जुन ३० दिन अगाडि एक हजार ४ सय ४३ थियो। यो ३० दिनमा गण्डकीमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। यसबीच तीन जना कोभिड-१९ संक्रमितको मृत्यु समेत भएको छ।

प्रदेश ५

संक्रमित पहिचान भएको संख्याका आधारमा प्रदेश ५ मा दोस्रो स्थानमा छ। यद्यपि, एक्टिभ केसका हिसाबले चौथोमा। प्रदेश ५ मा यो एक महिनामा एक हजार ४ सय ४२ जना संक्रमितको पहिचान भएको छ। यो ३० दिनमा प्रदेशमा ११ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेश ५ मा २१ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छ।

कर्णाली प्रदेश

सबैभन्दा कम मृत्यु पुष्टि भएको प्रदेश हो कर्णाली। पछिल्लो ३० दिनमा कर्णालीमा एक जनाको पनि मृत्यु भएको छैन। यो ३० दिनमा कर्णालीमा ४ सय ४४ जनामा कोभिड-१९ पहिचान भएको छ। कर्णालीमा हालसम्म दुई हजार ३ सय ७१ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। कर्णालीमा चार जनाको मात्र मृत्यु भएको छ।

सुदुरपश्चिम प्रदेश

पाँच हजार ४ सय ७१ जना कोभिड-१९ का संक्रमित पहिचान भएको सुदुरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ। यो ३० दिनमा यहाँ २ जना संक्रमितको मृत्यु भएको छ। यो ३० दिनमा सुदुरपश्चिममा १ हजार २ सय ६३ जना संक्रमित थपिएका छन्। ३० दिन अगाडि साउन १० मा संक्रमितको संख्या चार हजार २ सय ८ रहेकोमा यो ३० दिनमा संक्रमितको संख्या पाँच हजार ४ सय ७१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell