PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धरानमा ५ सय शय्याको आइसोलेसन र २ सय शय्याको कोभिड अस्पताल बनाउन मुख्यमन्त्रीको निर्देशन



अनन्तराज न्यौपाने

धरानमा ५ सय शय्याको आइसोलेसन र २ सय शय्याको कोभिड अस्पताल बनाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय शय्याको आइसोलेसन तयार पार्न र कोभिड अस्पताललाई दुई सय शय्याको यथाशीघ्र बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका छन्।

प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरू उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री राईले कोभिड–१९ का र अन्य बिरामीलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएको प्रेस संयोजक ध्रुव सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राईले तत्काल पीसीआर परीक्षणको दायरा बढाउन र यसका लागि आवश्यक समन्वय गर्न पनि आग्रह गरेका छन्।

उनले बीपीमा आएका बिरामी उपचार नपाएर फर्किएको आफूले सुन्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका थिए।

छलफलका क्रममा उपकुलपति डाक्टर गिरीले मुख्यमन्त्रीको निर्देशनअनुसारका कामहरू तुरुन्त सुरु गरिने वचनबद्धता प्रकट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell