काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ११ हजार ३२७ नमुना परीक्षणका क्रममा ८५५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा २७१ महिला र ४८४ जना रहेका छन्।
मन्त्रालयले आजको ब्रिफिङमा थप सात जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन्। मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षकी महिला र ७४ र ६६ वर्षका पुरुष रहेका छन्।
त्यस्तै, सिरहामा २२ वर्षका युवक, पर्साका ६८ वर्षका पुरुष, धनुषाका ७६ वर्षका पुरुष र रुपन्देहीका ५६ वर्षका पुरुषको पनि मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या १६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वाग्मती प्रदेशमा २९१, प्रदेश २ मा १८८, प्रदेश ५ मा १५३ र सुदूरपश्चिममा १०५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश १ मा ६९, गण्डकीमा २९ र कर्णालीमा २० जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा काठमाडौं उपत्यकामा मात्र २३२ जना रहेका छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्र १९९ जनामा सक्रमण पुष्टि भएको छ।
त्यस्तै, ललितपुरमा १४ र भक्तपुरमा १९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश १ मा सबैभन्दा बढी मोरङमा ४३, प्रदेश २ मा सर्लाहीमा ५८, प्रदेश ५ मा रुपन्देहीमा ६९ र डोटीमा ४५ जनामा संक्रमण पुष्टि भएको छ।

