यहिँ भदौ २९ गते रिटायर्ड हुन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिनुपर्ने भन्दै कलाकारहरुले आवाज उठाएका छन्।
कार्यकाल सकिने दिन नजिकिँदै मिडिया र सामाजिक सञ्जालसहित चौतर्फी रुपमा कुलमानलाई दोहोर्याउनुपर्ने माग चर्को रुपमा उठिरहेका बेला कलाकार पनि पक्षमा उभिएका हुन्।
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर, गायक शिव परियार, नायिका वर्षा राउत, गायक प्रमोद खरेल, दिपकराज गिरी, केकी अधिकारी लगायतले कुलमानलाई दोहोर्याउनुपर्ने माग गरेका छन्।
कसले के भने?
हरिवंश आचार्य
यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं। कुलमानको उर्जाले देशको उर्जा बढ्छ।
करिश्मा मानन्धर
थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन्। कुलमान घिसिङ फेरि चाहिन्छ।
शिव परियार
म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु। अहिले देशलाई, अहिले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ। अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौं। आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ।
वर्षा राउत
यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं। कुलमानको उर्जाले देशको उर्जा बढ्छ। वर्षाले हरिवंशकै शब्दलाई शेयर गरेकी हुन्।
प्रमोद खरेल
एक सच्चा सपुत कुलमान घिसिंग ज्यूलाइ मिल्छ भने पुन: नियुक्ति गर्दा हुन्छ। थाहा छ व्यक्तिभन्दा विधि ठूलो हो। हो भने नयाँ आउनेले कमसेकम देश र जनताका लागि अर्को कुलमान बन्न सक्नुपर्छ। नत्र खवरदार! जनतालाइ धोका हुनेछ। राज्यले पनि कुलमान मात्र हैन कुलमान संस्कार बनाउन र बचाउन सक्नु पर्छ।
दिपकराज गिरी
आज बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिगंलाई नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ !!! सरकारसँग यस्तै समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन...
केकी अधिकारी
निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल। यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार। न दम्भ, न अहंकार। शालिन, सौम्य र सरल। अर्थात कुलमान घिसिङ।
