वीरगंज : गण्डक अस्थायी कोभिड अस्पतालमा मंगलवार थप दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुवै संक्रमित बाराका हुन्।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका-४ दहियारटोल बस्ने ५९ वर्षीय र स्वर्ण गाउँपालिका-४ परशुरामपुरका ७२ वर्षीय पुरुष रहेका छन्। गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार एक जनाको बिहान ६ बजे र अर्काको बिहान ११ बजे आइसीयूमा उपचारको क्रममा मृत्यु भएको बताए।
६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमै आइसोलेसनमा थिए। स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ९ गते मंगलवार बिहान साढे ६ बजे मृत्यु भएको थियो।
त्यस्तै, भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका महागढीमाई नगरपालिकाका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। दुवै संक्रमितमा निमोनिया देखिएको थियो।
योसँगै, बारामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ।