कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक हजार २ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ। धनगढी, डडेल्धुरा र डोटीमा गरी प्रदेशका तीन वटा जिल्लामा पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरूको कोरोना परीक्षण गरिएको हो।
जसमा प्रदेशका विभिन्न जिल्लाका एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ तथा डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको हो।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अछामको चौरपाटी गाउँपालिकाका १२, साँफेबगरका ५ र मंगलसेनका एक जनामा संक्रमण पुष्टि भएको हो।
कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १ का चार, वडा नम्बर ५ का दुई, वडा नम्बर २ का एक, लम्की-चुहाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।
धनगढीमै गरिएको परीक्षणमा डोटीको आदर्श गाउँपालिकाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।
डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गा थलीका दुई जनामा संक्रमण पुष्टि भएको भुसालले बताए। डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ।
उता जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको बताए। संक्रमित सबै डोटी जिल्लाका हुन्।
जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआइसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३९ पुगेको छ।