काठमाडौँ: कोरोना संक्रमणका कारण गरिएको लकडाउन खुकुलो भएसँगै काठमाडौंमा उपत्यकामा मानिसहरुको चहलपहल बढेको थियो। यस अवधिमा बाहिरी जिल्लाबाट ठूलो संख्यामा मानिस उपत्यका प्रवेश गरे। निषेधबीच भारतबाट समेत मानिस उपत्यका प्रवेश गरे। लकडाउन अन्त्य भएपछि यो क्रम झन बढ्यो।
लकडाउन अन्त्य भएपछि उपत्यकामा मानिसहरुको संख्यामात्रै थपिएन, कोरोना संक्रमितको संख्या पनि बढ्दै गयो। विस्तारै काठमाडौँ उपत्यका कोरोना भाइरसको हटस्पट बन्यो।
निषेधाज्ञा बढाउने सहमति
हाल ७७ जिल्लामध्ये काठमाडौँमा मात्रै सबैभन्दा धेरै संक्रमित रहेका छन्। चिकित्सकहरुले काठमडौँमा समुदायमा नै संक्रमण फैलिएको हुन सक्ने भन्दै चेतावनी समेत दिए। यता संक्रमित थपिँदै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ४ गतेदेखि
भदौ १० गतेसम्म निषेधाज्ञा लागू गरेको थियो।
निषेधाज्ञाको समय बुधबार सकिँदैछ। त्यसैले निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्यो। बैठकमा १० गतेसम्मको निषेधाज्ञालाई भदौ १७ गते सम्म कायम गर्ने सहमति भएका छन्। यसबारेमा बुधबार बैठक गरी निर्णय गर्ने बताइएको छ।
बढ्दै संक्रमितको संख्या
उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार २२४ जनामा संक्रमण देखिएको थियो भने मंगलबार २३२ जनामा संक्रमण पुष्टि भयो।
पछिल्लो २४ घण्टामा काठमाडौँमा १९९ जना, ललितपुरमा १४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७१८ पुगेको छ। यी मध्ये दुई हजारभन्दा बढी एक्टिभ केस रहेको बताइएको छ।
मंगलबारमात्रै उपत्यकामा ४ जना कोभिड १९ संक्रमितको मृत्यु भयो।
काठमाडौँमा मात्रै कूल २ हजार ९५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। काठमाडौँमा सबैभन्दा धेरै संक्रमित काठमाडौँ महानगरमा रहेको छ। यहाँ करिब १ हजार ८ सय जनामा कोभिड १९ संक्रमण देखिएको छ। महानगरपछि टोखा नगरपालिकामा सबैभन्दा बढी संक्रमित पहिचान भएका छन्। अन्य स्थानीय तहहरुमा पनि संक्रमितको संख्या बढ्दै गएको छ।
मंगलबारसम्म ललितपुरमा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ ललितपुर महानगरमा करिब १५० जनामा कोरोना संक्रमण देखिएको छ।
भक्तपुरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३०० पुगेको छ। पछिल्लो केही दिनयता भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। भक्तपुरमा सबैभन्दा बढी संक्रमण मध्यपुर थिमी नगरपालिकमा रहेका छन्।
भदौमा मात्रै १६ सय संक्रमित थपिए
साउन अन्तिम साता उपत्यकामा ८३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
भदौमा भने उक्त संख्यामा हवात्तै वृद्धि भयो। भदौ १ गते देखि ९ गतेसम्म १ हजार ६५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लोपटक साउन २६ गते उपत्यकामा सबैभन्दा कम संक्रमित देखिएका थिए। सो दिन मात्र ४४ जनामा संक्रमण देखिएको थियो। तर त्यसयता संक्रमितको संख्या बढ्दै गएको छ।
