PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

वीरगंजमा एकै दिन ४ कोभिड-१९ संक्रमितको मृत्यु, निमोनियाको कारण जाँदैछ अधिकांशको ज्यान



राधेश्याम पटेल

वीरगंजमा एकै दिन ४ कोभिड-१९ संक्रमितको मृत्यु, निमोनियाको कारण जाँदैछ अधिकांशको ज्यान

वीरगंज : वीरगंजमा भदौ ९ गते मंगलवार मात्र चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृतक सबैले उपचारको क्रममा कोभिड विशेष उपचार केन्द्रमा ज्यान गुमाएका हुन्। विहान ६ बजेदेखि १० बजेको अन्तरालमा गण्डक कोभिड अस्पतालमा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै मंगलवार राति ८ बजेदखि ११ बजेको बीचमा वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको हो।

मंगलवार ज्यान गुमाएका सबै बाराका हुन्।

बारामा कोरोना भाइरस संक्रमणकै काण मृत्यु हुनेको संख्या ११ पुगेको छ। नारायणी अस्पताल वीरगंजका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार वीरगंज हेल्थकेयरमा राति ८ बजेर ५ मिनेटमा बारा कलैया वडा नं १ का ६६ वर्षीय पुरुषको र सोही अस्पतालमा राति पौने ११ बजे बारा विश्रामपुर १ छातवाका ४२ वर्षीय पुरुषको गरी दुई जनाको मृत्यु भएको हो।

कलैयाका संक्रमित भदौ २ गते कोरोना पोजेटिभ देखिए पछि अस्पताल भर्ना भएका थिए। ७ दिनपछि उनको मृत्यु भएको हो। विश्रामपुरका संक्रमित मंगलवार दिउँसो वीरगंज हेल्थकेयरमा भर्ना भएका थिए।

यी दुवैको छातीमा निमोनिया तथा स्वाप्रस्वासमा समस्या एवं ज्वरोको समस्या थियो। विश्रामपुरका संक्रमितले हालसालै मृगौला प्रत्यारोपण गराएका थिए।

त्यसैगरी गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–४ दहियारटोल बस्ने ५९ वर्षीय र स्वर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय पुरुष रहेका छन्। गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार एक जनाको बिहान ६ बजे र अर्काको बिहान ११ बजे आइसीयूमा उपचारको क्रममा मृत्यु भएको थियो।

भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमै आइसोलेसनमा थिए। अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि सोमवार गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो। त्यस्तै भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका महागढीमाई नगरपालिकाका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। यी दुवै संक्रमितमा पनि निमोनिया देखिएको थियो। चिकित्सकहरूका अनुसार वीरगंजमा अधिकांश संक्रमितहरुको मृत्यु निमोनिया र स्वासप्रस्वासमा उत्पन्न समस्याले भइरहेको छ।

हालसम्म वीरगंजका विभिन्न अस्पतालमा उपचारको क्रममा पर्सा, बारा, रौतहटका गरी ४३ जनाको मृत्यु भइसकेको छ। जसमा पर्साका ३१, बाराका १० र रौतहटका २ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell