PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

छ महिने गर्भवती खेलाडीलाई कुटपिट : झगडा छुट्याउँदा उनीमाथि नै आक्रमण



मुकुन्द घिमिरे

छ महिने गर्भवती खेलाडीलाई कुटपिट : झगडा छुट्याउँदा उनीमाथि नै आक्रमण

सोमवार बेलुकी चन्द्रकला लामगडे खाना खाँदै थिइन्, झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा। बेलुकीको करिब ८ बजेको हुनुपर्छ। दुई जनाले एउटा मान्छेलाई लखेट्दै ल्याए - जातीय गाली गर्दै।

लखेट्ने व्यक्ति थिए ५२ वर्षीय दुर्गा श्रेष्ठ र उनकी पत्नी विष्णु। लखेटिने व्यक्ति थिए राजन दर्जी।

‘ती व्यक्तिलाई लखेट्दै ल्याएछन्। ए (दमै डुम्रा) तँ क्वारेन्टाइनमा बसेको भन्दै रोडमा कुदाउँदै ल्याए। त्यो दाइले (राजन) चाहिँ मलाई मार्न लाग्यो बचाउनु बहिनी भनेर भन्यो,’ चन्द्रकलाले भनिन्।

१३ औँ दक्षिण एसियाली खेलकुदमा समेत सहभागिता जनाइसकेकी नेपाल प्रहरीमा कार्यरत लामगडेको पछाडि आएर ती व्यक्ति बसे। जातीय विभेद गर्न नहुने भन्दै उनले लखेड्ने दम्पतीलाई बुझाउन खोजिन्।

तर, उनको भनाइ सुन्ने मुडमा थिएनन् उनीहरु। सम्झाउने प्रयत्न गर्दा ती दम्पतीले उल्टै रिस पोख्न थाले चन्द्रकलामाथि।

‘मलाई मुख छोडेर तँ यहाँको को हो? तँ यो ‘डुम्रा’को के पर्छेस्? भन्दै मलाई एक्कासी बेल्टले हान्न थाले। अनि श्रीमतीले पनि कुटिन्,’

चन्द्रकलालाई न ती लखेट्ने मान्छे को हुन् थाहा थियो न त उनीहरु बीचको खास समस्या नै। एक्कासी असहज परिस्थिति भोग्नुपर्‍यो उनले।

चन्द्रकला त्यसै पनि बिरामी महसुस गरिरहेकी थिइन्। उनलाई असहज भइरहेको थियो। त्यसमाथि उनी छ महिनाकी गर्भवती।

+++

त्यसपछि उनलाई १२ बजेतिर अस्पताल लगियो। सुरुमा चारआलीको मनकामना अस्पताल लगियो। त्यहाँबाट रिफर गरेर अहिले बीएन्डसी अस्पतालमा छिन् उनी।

‘अहिले पनि हल्का पेट दुखेकै छ। उभिन गाह्रो हुन्छ। ठीकै थिएँ। हिजो कुटपिटपछि गाह्रो भएको छ,’ उनले भनिन्।

एथलेटिक्सकी खेलाडी उनी लकडाउन यता झापामै थिइन्।

‘सागमा सटपुटमा रेकर्ड नै बनाएको थिएँ,’ सागको नतिजा सम्झँदै उनले भनिन्।

उनले राष्ट्रिय खेलकुदमा पनि कीर्तिमान बनाएकी छिन्। साग सकिएपछि विवाह बन्धनमा बाँधिएकी थिइन् उनी। छ महिना पूरा पुगेर ७ महिनाको गर्भवती उनी सोमवारको कहालीलाग्दो साँझलाई सम्झँदै भनिन्, ‘उनीहरूले मेरो पानी पेटमा पनि हाने। कपडा पनि च्यातिदिए।’

जाहेरी दर्ता, के भन्छ प्रहरी?

घटनालाई लिएर प्रहरीमा जाहेरी दर्ता समेत भइसकेको छ। लामखडेको श्रीमानले जाहेरी दिएका हुन्।

‘मान्छे पक्राउ परिसकेको छ। अनुसन्धानका लागि म्याद थप पनि भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले भने।

प्रहरीमा आवद्ध चन्द्रकला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौँमा कार्यरत छिन्। उनी झापा गएको बिदाका बेला लकडाउन भइदियो। र, काठमाडौँ फर्कन नसकेपछि उनी त्यतै युनिटमा हाजिर हुनेगरी सम्पर्क काजमा झापामै रहेको डीएसपी थापाले बताए।

के थियो विवाद

साँढेको जुधाइमा बाच्छाको मिचाइ भनेजस्तो भयो चन्द्रकलालाई। दुर्गा र राजनको झगडामा पिसिइन उनी।

‘दुर्गा श्रेष्ठ र त्यही स्थानमा बस्ने राजन दर्जी भन्ने मान्छेसँग चाहिँ विवाद भएको हो सुरुमा। जातीय हिसाबले पनि भनाभन परेको भन्ने कुरा आयो,’ डिएसपी थापाले भने, ‘जाहेरीमा उल्लेख भए अनुसार क्वारेन्टाइनमा बसेको मान्छे मेरो पसल छेउछाउमा नआइज भनेर दुर्गा श्रेष्ठले भनेछन्। त्यहाँ विवाद पर्दा राजन भागेका रहेछन्। कुटपिट गर्न खोज्दा।’

त्यहाँबाट भागेका दर्जी पुगे चन्द्रकला बसेको घरमा।

‘भागेर ती व्यक्ति महिला प्रहरी चन्द्रकला लामगाडेको घरमा पुगेछन्। गाली नगर्नुहोस् भनेर सम्झाउन खोजेका रहेछन्। सम्झाउन खोज्दा उल्टै जातीय रुपमा गाली गर्दै कुटपिट गरे भन्ने कुरा छ,’ थापाले भने, ‘दुई जना पक्राउ परेर पनि आज पाँच दिनको म्याद थप भइसकेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell