काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत काम गर्ने बाल गृहमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गरे। ‘कोभिड–१९ संकटका बेला अनाथ, असहाय बालबालिकाहरु झनै जोखिममा परेका छन्,’ मंगलबार काठमाडौंमा आयोजित कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एसियाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा बोल्दै उनले भने, ‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एसियाली राष्ट्रहरु बीच अझै बलियो सहकार्यको आवश्यकता छ।’
मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिकाको उचित व्यवस्था हुनेगरी बालबालिका सम्बन्धी १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणको पुर्याएको पनि जानकारी दिए।
उनले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त देश घोषणा गर्ने तयारी भइरहेको बताए। कोभिड–१९ र बाढी पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्त बनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाई थियो।
मन्त्री गुरुङले अनाथ तथा गरिब बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए।