काठमाडौं : होम क्वारेन्टाइनमा बसेकाहरुलाई धमाधम कोभिड-१९ को संक्रमण पुष्टि हुन थालेपछि रुपन्देहीको कञ्चन गाउँपालिकाले १४ गते सम्मका लागि गाउँपालिका सिल गरेको छ।
यसबीच गाउँपालिकाले इजाजत पत्र प्राप्त गरेका सवारी साधनब हेक सबै सवारी साधन तथा हिँडडुल गर्नसमेत प्रतिवन्ध लगाएको छ।
मंगलवार रुपन्देहीका ७९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा कञ्चन गाउँपालिकाका २३ जना हुन्। संक्रमण पुष्टि भएका मध्ये ७ जना कन्ट्र्याक्ट ट्रेसिङमा परेका र ६ जना संस्थागत क्वारेन्टाइनमा रहेका छन्। बाँकी १० जना होम क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद गौतमले जानकारी दिए।
साउन २७ गते संक्रमण पुष्टि भएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङबाट ७ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। त्यस्तै हरैयाँ बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका ६ जनामा पनि संक्रमण पुष्टि भएको हो। क्वारेन्टाइनमा हाल २० जना रहेको उनले जानकारी दिए।
हालसम्म गाउँपालिकामा ५२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा २६ एक्टिभ केस रहेका छन्। संक्रमितमध्ये १ जना बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा र ७ जना हरैयाँ बहुमुखी क्याम्समा बनाइएको आइसोलेसन सेन्टरमा छन्। भने बाँकी होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक गौतमले जानकारी दिए।
होम क्वारेन्टाइनमा रहेकामध्ये १० जनाको परीक्षण गर्न बाँकी रहेको उनले जानकारी दिए।
'दुई लट गरेर परीक्षण भयो। अघिल्लो लटमा खासै देखिएको थिएन। अहिले १० जनामा देखियो। अझै १० जनाको परीक्षण गर्न बाँकी छ,' उनले भने।
होम क्वारेन्टाइनमा बसेकाहरु पछिल्लो समय भारतबाट आएका हुन्। गाउँपालिकाले सुरुमा ५ वटा क्वारेन्टाइन सञ्चालन गरे पनि हाल विदेशबाट आउनेहरु कमी भएपछि चारवटा क्वारेन्टाइन बन्द गरेको छ।
गाउँपालिकाभित्र अत्यावश्वय सेवाहरु दुग्ध, तरकारी, फलफुल तथा खाद्यान्नका बिक्री बितरण बिहान ६ बजे देखि ८ बजेर र साँझ ५ बजे देखि ६ बजेसम्म मात्र खोल्न दिइने तथा बैंक तथा वित्तीय संस्था पनि बन्द गराएको छ।
