PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

काठमाडौं उपत्यकामा अर्को साता दिन निषेधाज्ञा जारी, तीन सीडीओले गरे निर्णय



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा अर्को साता दिन निषेधाज्ञा जारी, तीन सीडीओले गरे निर्णय

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साताका लागि निषेधाज्ञा बढाइएको छ।

उपत्यकाभित्रका तीनवटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

'एक साताको लागि थप गर्ने निर्णय भएको छ,' जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले भने।

पहिलो चरणमा उपत्यकाभित्र थपिएको समय आज राति १२ बजेबाट सकिँदै छ। 

निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो। बैठकमा १० गतेसम्मको निषेधाज्ञालाई भदौ १७ गते सम्म कायम गर्न सहमत भएका छन्। यसबारे आज औपचारिक निर्णय बाहिर आउने छ।

बढ्दै संक्रमितको संख्या

उपत्यकामा दिनहुँ संक्रमितको संख्या भने बढ्दै गएको छ। सोमवार २ सय २४ जनामा संक्रमण देखिएको थियो भने मंगलवार २ सय ३२ जनामा संक्रमण पुष्टि भयो।

पछिल्लो अपडेट अनुसार काठमाडौंमा १ सय ९९ जना, ललितपुरमा १४ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। यी मध्ये दुई हजारभन्दा बढी एक्टिभ केस रहेको बताइएको छ। मंगलवारमात्रै उपत्यकामा ४ जना कोभिड १९ संक्रमितको मृत्यु भयो। हिजो राति ९:३० बजे पाटन अस्पतालमा एक जना व्यक्तिको मृत्यु भयो जसलाई आज बिहानमात्र सार्वजनिक गरियो। अर्थात् संक्रमणसँग मृत्यु रफ्तार पनि जारी छ।

काठमाडौंमा मात्रै कूल २ हजार ९ सय ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। काठमाडौंमा सबैभन्दा धेरै संक्रमित काठमाडौं महानगरमा रहेका छन्। यहाँ करिब १ हजार ८ सय जनामा कोभिड १९ संक्रमण देखिएको छ। महानगरपछि टोखा नगरपालिकामा सबैभन्दा बढी संक्रमित पहिचान भएका छन्। अन्य स्थानीय तहहरुमा पनि संक्रमितको संख्या बढ्दै गएको छ।

मंगलवारसम्म ललितपुरमा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ ललितपुर महानगरमा करिब १ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ।

भक्तपुरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय पुगेको छ। पछिल्लो केही दिनयता भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो। भक्तपुरमा सबैभन्दा बढी संक्रमण मध्यपुर थिमि नगरपालिकमा रहेका छन्।

भदौमा मात्रै १६ सय संक्रमित थपिए

साउन अन्तिम साता उपत्यकामा ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

भदौमा भने उक्त संख्यामा हवात्तै वृद्धि भयो। भदौ १ गते देखि ९ गतेसम्म १ हजार ६५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लोपटक साउन २६ गते उपत्यकामा सबैभन्दा कम संक्रमित देखिएका थिए। सो दिन मात्र ४४ जनामा संक्रमण देखिएको थियो। तर, त्यसयता संक्रमितको संख्या बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell