PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

१३ औं सागमा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा



पहिलोपोस्ट

१३ औं सागमा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा
कोरोना बीमाको कागजपत्र मुख्य प्रशिक्षक प्रकाश थापा मगरलाई हस्तान्तरण गर्दै पूर्वबक्सर ओमनारायण श्रेष्ठ । तस्बिर: राखेप

काठमाडौं: गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ। पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन्।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले  तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए। यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए। 

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि पूर्व बक्सर श्रेष्ठले कोरोना बीमा गरिदिएका छन्।

कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको श्रेष्ठले जानकारी दिए। यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell