काठमाडौं: झापामा सोमवार कुटपिटमा परेकी एथ्लेटिक्सकी खेलाडी चन्द्रकला लाम्गाडेलाई नेपाल एथलेटिक्स संघले २१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। संघको आकस्मिक बैठकले नेपालकी राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी लाम्गाडेमाथि भएको सांघातिक हमला गरि घाइते बनाउनेमाथि कडाभन्दा कडा कारवाहीको माग समेत गरेको छ।
'एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगाडेमाथि जातीय गालीगलौज गर्दै सोमबार राति झापामा निर्घात कुटपिट भएको खबरले अत्यन्तै दुःखी बनाएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको यस घटनाको नेपाल एथलेटिक्स संघ घोर भर्त्सना गर्दछ,' संघका अध्यक्ष राजीवविक्रम शाहले लेखेका छन्, 'अहिलेको २१औं शताब्दीमा हुने यस्ता घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु। कुटपिटबाट घाइते लामगाडेसहित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै चन्द्रकला बहिनीको स्वास्थ्यपचारका लागि नेपाल एथलेटिक्स संघको तर्फबाट २१ हजार सहयोग उपलब्ध गराउने पनि घोषणा गर्दछु।'
चन्द्रकलालाई घरमै बसिरहेको अवस्थामा दुर्गा श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले हातपात गरेका थिए। ६ महिनाकी गर्भवती समेत रहेकी उनी अहिले बिएन्डसी अस्पतालमा उपचाररत छिन्। उनले १३ औं दक्षिण एसियाली खेलकुदमा एथलेटिक्समा सहभागिता जनाएकी थिइन् भने राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितिसकेकी कीर्तिमानी खेलाडी हुन्।
