PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

सुशान्तको मुद्दामा ड्रग्सको कनेक्सन, सीबीआईसँगै नारकोटिक्स ब्यूरोले सुरु गर्‍यो जाँच



पहिलोपोस्ट

सुशान्तको मुद्दामा ड्रग्सको कनेक्सन, सीबीआईसँगै नारकोटिक्स ब्यूरोले सुरु गर्‍यो जाँच
Photo : IANS

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषध ड्रग्स जोडिएको छ। उनकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले ड्रग्सको कनेक्सन देखाएको हो।

सुशान्तको मुद्दामा हाल सीबीआईले छानविन गरिरहेको छ। ड्रग्सको कनेक्सन देखिएसँगै नारकोटिक्स ब्यूरोले पनि जाँच सुरु गरेको छ।

रिया र सुशान्तकी पूर्व बिजनेस मैनेजर श्रुति मोदीसँगको कुराकानीमा औषधि दिँदा पनि ठीक हुन नसकेको कुरा उल्लेख गरिएको छ। म्यासेजमा रियासँग कुरा भएको देखिन्छ। रियाले सुशान्तले गाँजा छोड्नैपर्ने र भोलिबाट छोड्छु भनेको कुरा पनि पूर्वम्यानेजर मोदीसँगको म्यासेजमा लेखेकी छन्।

यसअघि भारतीय मिडियाबाट सार्वजनिक भएको म्यासेजमा १७ अप्रिलमा रियालाई मिरांडा सुशी नाम गरेका व्यक्तिले पठाएको म्यासेजबाट ड्रग्स मगाइरहेको पुष्टि हुन्छ। मिरांडाले माल (ड्रग्स) सकिएको र शौविकको साथीबाट लिनसक्छौं भनेर रियालाई प्रश्न समेत गरेका छन्। साथै शौविकको साथीसँग हैश र बडमात्र रहेको पनि उल्लेख गरेका छन्।

२५ नोभेम्बर २०१९ मा रियाले जया शाहलाई म्यासेज लेखेकी थिइन्। जुन डिलिट गरिएको थियो। छानविनका क्रममा रिकभर गरेर हेर्दा लेखिएको थियो, ‘कफी, चिया वा पानीमा मात्र ४ थोपा हालेर उसलाई पिउन देउ। यसको असर ३० देखि ४० मिनेटमा आउनेछ। डिलिट गरिएको यो म्यासेज बाहिर आएसँगै सुशान्त केस नयाँ मोडमा आइपुगेको छ।

सुशान्त आफै ड्रग्स लिन्थे कि रियाले झुक्याएर खुवाइन् भन्नेतर्फ अनुसन्धान केन्द्रीत गरिएको छ। यद्यपि रियाका वकिलले भने रियाले जीवनमा कहिल्यै पनि ड्रग्स नलिएको र उनी रगत जाँच गराउन पनि तयार रहेको उल्लेख गरेका छन्।

सुशान्तको केसमा ड्रग्सको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का निर्देशक राकेश अस्थानाले जाँच शुरू गरिएको बताए। केसको छानविन गरिरहेको प्रवर्तन निर्देशालय (ईडी)ले पनि एनसीबीलाई चिठ्ठी लेखेर सुशान्तसँग जोडिएका केही मानिस ड्रग्स लिँदै आएको जानकारी गराएको थियो। ईडीले जयासँग सोधपुछ पनि गरिसकेको छ।

यसैबीच सत्तारुढ भाजपाका नेता राम कदमले बलिउडमा र मुम्बईमा कसले ड्रग्स आयात गरिरहेको छ भनी प्रश्न गरेका छन्। महाराष्ट्र सरकारले कसैलाई संरक्षण गर्न त खोजेको होइन भनी पनि आशंका गरेका छन्। उनले सुशान्तसम्म ड्रग्स पुर्‍याउन बलिउड सेलिब्रेटी नै लागेको हुनसक्ने आशंका पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell