काठमाडौं : कोभिड-१९ पान्डेमिकका कारण बन्द रहेका अन्तर्राष्ट्रिय उडानहरु भदौ १७ (सेप्टेम्बर २) देखि नियमित रुपमा सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि हुने गरी नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्न लागेको हो। सोही अनुरुप मन्त्रालयले उडान तालिकासमेत सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको उडान तालिकामा मलेसियाको क्वालालम्पुर, टर्कीको इस्तानबुल, कोरियाको सोल, चीनका छन्दु, गोन्जाओ र छोङ्चिन्, युएईको सारजाहा, दुबई, अबुधाबी, कतार, हङकङ, र जापानको नारिताबाट नियमित रुपमा उडान हुने छन्।
मन्त्रालयले सार्वजनिक गरेको तालिकामा नेपाल एयरलाइन्सले जापान, युएई, मलेसिया, हङकङका लागि नियमित उडान भर्ने छ। त्यस्तै हिमालय एयरलाइन्सले चीनको छोङ्चिन्, मलेसिया, अबुधाबीका लागि नियमित उडान भर्ने छन्।
त्यस्तै खुला गरिएका गन्तव्यबाट अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले काठमाडौंका लागि उडान भर्ने छन्। जसमध्ये चीनका एयर चाइना र चाइना साउदर्न, कोरियन एयर, मालिन्दो, टर्किस एयरलाइन्स, क्याथे ड्र्यागन, एयर अरेबिया, कतार एयर, फ्लाइ दुबई र मलेसियन एयरलाइन्स रहेका छन्।
त्यस्तै सेप्टेम्बरभर २७ वटा चार्टड उडान गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन मन्त्रालयले अनुमति दिएको छ। जसअन्तर्गत सेप्टेम्बर २ मा हिमालय एयरलाइन्स माल्दिभ्स उड्ने छ। दोहा, कुवेत, जेद्दा, दमाम, ओमान र रियादका लागि चार्टड उडान तालिका स्वीकृत भएको छ।
यस्ता छन् शर्तहरु:
- उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरु मात्र ल्याउन पाइने छ। पीसीआर नेगेटिभ भएको सुनिश्चितता गरीमात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास उपलव्ध गराउनुपर्ने छ।
- एउटै उडानबाट पीसीआर नेगेटिभ भएका सबै यात्रुहरु नेपाल आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। यी यात्रुहरुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड - १९ संकट व्यबस्थापन केन्द्र (एलसीसीएमसी) ले गर्नेछ। साथै यात्रुहरुले आफ्नो स्वास्थ्य स्थितिको जानकारी सम्बन्धित स्थानिय तह र स्थानीय तह कोभिड - १९ संकट व्यवस्थापन केन्द्रलाई गराउनुपर्नेछ।
- नियमित उडानमार्फत आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टाभित्रको आरटी-पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइट मा रहेको अनलाइन फर्म भरेर सो को बारकोड वा प्रिन्ट कपी साथमा लिई आउनुपर्नेछ। कुनै कारणवश त्यस्तो फर्म भर्न छुट भएको रहेछ भने सम्बन्धित वायुसेवाले अनबोर्ड गर्दाकै अवस्थामा त्यस्तो फारम यात्रुलाई उपलब्ध गराउनु पर्नेछ।
- एउटै उडानमा आरटी-पीसीआर गरेको र नगरेको यात्रुहरु मिसाएर ल्याउन पाइने छैन । कुनै वायुसेवाले मिसाएर ल्याएको पाइएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुहरुलाई सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्नेछ।
- नियमित उडानमा आरटी-पीसीआर परिक्षण नगराएका, आरटी-पीसीआर पोजेटिभ भएका वा नेपाल सरकारले जारी गरेको अन्य शर्त वा आदेश पुरा नगरेका कुनै यात्रु लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा संस्थालाई प्रचलित कानुन बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कारवाही गर्नेछ। साथै त्यसरी ल्याएका यात्रुको खर्च वायुसेवाले व्यहोर्नु पर्नेछ।
- कुटनैतिक नियोगमा कार्यरत कर्मचारीहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिहरु, संयुक्त राष्ट्र संघका नियोगहरुमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउन पाइनेछ। सम्बन्धित वायुसेवा बोर्डिङ पास दिदा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचय र पासपोर्ट समेत जाँच गर्नुपर्नेछ। कन्सुलर विभागले जारी गरेको परिचयपत्र नभएमा माथि उल्लेखित निकायले जारी गरेको परिचयपत्रलाई आधार लिन सकिनेछ।
- बुँदा ६ बमोजिम नेपाल आउनुपर्ने कुटनैतिक कर्मचारी, पदाधिकारी तथा तिनका परिवारको भिषाको हकमा अध्यागमन विभागले जारी गरेको निर्देशन अनुरुप हुनेछ।
- कूटनैतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टको आधारमा जाँच गर्नुपर्नेछ।
- नेपाल आउने यात्रुको हकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ।
- अन्य विषय नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिका बमोजिम हुने छ।
- जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रबाट होटल क्वारेन्टाइनका लागि सूचिकृत होटलहरुको विवरण प्रयटन मन्त्रालयको वेबसाइट र जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा हेर्न सकिने छ।
- नेपाल सरकारबाट नियमित उडान रोक्ने गरी कुनै निर्णय भएमा संस्कृति, तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व जानकारी दिइ वा नदिइ जुनसुकै बेला पनि उडान स्थगित गर्न सक्ने छ।
नियमित उडान हुने गन्तब्यहरु:
चार्टड उडान हुने गन्तब्यहरु
