काठमाडौं : काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै जाँदा वाग्मती प्रदेश सरकार आइसोलेसन बेडको तयारीमा लागेको छ।
उपत्यकामा तीन हजार आइसोलेसन बेड तयार गर्ने निर्णय प्रदेश सरकारले केन्द्र सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गरेको छ। उपत्यकाका विभिन्न स्थानमा आवश्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए।
उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितलाई राख्न सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा सांसद कृष्ण राई, जीवनराम श्रेष्ठ र बागमती प्रदेशसभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको छ।
आइसोलेसनमा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारलाई आग्रह गरिएको छ। स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले आइसोलेसन स्थापनाका लागि आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको पौडेलले बताए।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले आइसोलेसन स्थापनाका लागि भवन तथा स्थान उपलव्ध गराउने बताए। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिँदै उपत्यका नगरपालिका फोरमबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए।
