PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नारायणीले 'सिटी भ्यालु'सहित पीसीआर रिपोर्ट दिन थाल्यो, के हो कोरोना संक्रमितको सिटी भ्यालु?



राधेश्याम पटेल

नारायणीले 'सिटी भ्यालु'सहित पीसीआर रिपोर्ट दिन थाल्यो, के हो कोरोना संक्रमितको सिटी भ्यालु?

वीरगंज : नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजले बहुप्रतिक्षित मानिएको सिटी भ्यालु(साइकल थ्रेसहोल्ड)सहितको पीसीआर दिन शुरु गरेको छ। नारायणी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरको सक्रियता एवं पीसीआर ल्याबका प्राविधिकहरुको सहयोगमा सिटी भ्यालुसहितको पीसीआर रिपोर्ट दिने शुरुवात गरिएको हो।

वीरगंज आएपछि जनसमुदायसँग गरिएको जुम छलफलमा चौतर्फी रुपमा पीसीआर रिपोर्टमा सिटी भ्यालु उल्लेख भएर दिदाँ संक्रमितको वर्गिकरण गर्न सहज हुने आवाज उठेपछि मंगलवारदेखि सिटी भ्यालुसहितको रिपोर्ट सार्वजनिक गर्न थालिएको नारायणी अस्पतालका मेसु ठाकुरले जानकारी दिए।

यस विषयमा नारायणी अस्पताल प्रयोगशालाकी प्रमुख डा. नीरा पाठकले दक्ष जनशक्ति र समयको अभावको कारण पहिले सिटी भ्यालुसहितको रिपोर्ट नदिएकोमा हाल चारैतिरबाट माग उठेको सन्दर्भमा सिटीभ्यालु एडेड रिपोर्ट उपलब्ध गराउन थालिएको बताइन्। उनले पीसीआर रिपोर्टको अन्तिम नतिजाको विश्लेषण सिटी भ्यालुबाट नै गर्ने हुदाँ समान्य प्रकृयाबाट चार चरण पार गरेपछि करिब १० घण्टा लाग्छ एउटा नमुनाको नतिजा निकाल्न भने सिटी भ्यालु निकाल्न थप दुई घण्टा समय लाग्ने बताइन्।

के हो सिटी भ्यालु?

सिटीभ्यालु संक्रमणको थ्रेसहोल्डलाई जनाउने र भाइरसकोमात्र जनाउने भ्यालु भएको मेसु ठाकुरले बताए।

उनले भने, ‘सिटीभ्यालु भनेको कोरोना संक्रमणको साइकल थ्रेसहोल्डलाई जनाउँछ, कुन संक्रमितमा भाइरसको मात्र कस्तो छ, उसले समुदायमा संक्रमण फैलाउन सक्छ कि सक्दैन भन्ने कुराको निर्क्यौल गर्ने सिटी भ्यालु नै हो, त्यसकारण यो सुविधा शुरुवात गरिएको हो।’

युरोपमा ३३ सिटी भ्यालु भन्दामुनि र भारतमा २४ सिटी भ्यालुभन्दा मुनिका संक्रमित भनेको बलियो कोरोना संक्रमितको रुपमा अध्ययनहरुले देखाएका छन्। 'त्यसमाथिका संक्रमितले समुदायमा कोरोना संक्रमण फैलाउन सकदैनन् भनिन्छ, तर यो तथ्यांक अहिले पूर्ण रुपमा अध्ययनकै चरणमा रहेकोले कुन रिएजेन्ट र एक्सट्रेक्स कीटमा परीक्षण हुन्छ, त्यसमा पनि सिटी भ्यालु भर पर्नेगर्छ,’ मेसु ठाकुरले भने।

सिटी भ्यालु हरेक परीक्षणको रिपोर्टमा देखाइने माइक्रोबायोलोजिस्ट प्रा.डा.प्रकाश घिमिरेले बताए। तर, बिरामीलाई भने नेगेटिभ र पोजेटिभ रिपोर्टमात्र उपलब्ध गराउने घिमिरेले जनाए। 'यो हरेक परीक्षणको रिपोर्टमा हुन्छ। तर परीक्षण गरिएका व्यक्तिलाई उपलब्ध गराइएको छैन। सिटी भ्यालु उपचारमा संलग्न चिकित्सकलाई मात्रै दिने गरिएको छ। बिरामीलाई पनि सिटी भ्यालु दिन नसकिने भने होइन,' उनले भने।

उनकाअनुसार पीसीआर गर्दा थ्रेसहोल्ड भ्यालु पनि हुन्छ। त्यसलाई सिटीभ्यालु भन्ने गरिन्छ। 'कुनै २९/३० साइकल पछिमात्रै देखाउछ भाइरल लोड। कुनै भाइरल लोड २४ देखि देखाउँछ। भाइरल लोड २४ भन्दा पहिल्यै आउने भनेको भाइरल लोड धेरै भएकोले देखाउँछ,' प्राडा घिमिरेले भने, 'मेटा एनालाइसिसअनुसार संक्रमण २४ भन्दा कम भएको संक्रमण दर र सिरियस इन्फेक्सन हुने चान्स बढी हुन्छ। यो नतिजा भर्खरैको अध्यनले देखाएको हो।'

पर्सा–बाराका सिटी भ्यालु खतरापूर्ण

नारायणी अस्पतालमा हुने पीसीआर परीक्षणमा बलियो संक्रमितमात्र भेटिने गरेका छन्। साउनअघि ३०, ३२, ३४ सम्म सिटी भ्यालु आउँथ्यो भने अहिले ८० प्रतिशत पोजेटिभ केस २४ भन्दा मुनि अर्थात् १५, १६, १७ सम्म आउने गरेको उनको भनाई छ। ‘हामीले सिटी भ्यालुलाई विश्लेषण गरी ३५ भन्दा मुनिकालाई बलियो संक्रमित मानेर पोजेटिभ रिपोर्ट दिने गरेका छौ, अहिले करिब सवा महिनादेखि सिटी भ्यालु निकै कम आइरहेको छ, यो चिन्ताको विषय हो, सिटी भ्यालु कम आउनुको मतलब संक्रमितमा भाइरसको संख्या धेरै हुनु हो,’ डा नीरा पाठकले भनिन्, ‘२४ भन्दा मुनिका संक्रमितलाई होम आईसोलेसनको मापदण्ड पुरा गरेमात्र घरमा बस्न नत्र कोभिड अस्पताल, सेमि आइसोलेसन वा क्वारेन्टाइनमै बसेको ठीक हुन्छ।’ बलियो संक्रमित होम आइसोलेसनमा बस्यो र मापदण्ड अर्थात, बस्ने कोठा, शौचालय, खानेकुरा, नुहाउने, कपडा धुने, भाडावर्तन धुने काम छुट्टै गरेनन् भने एक जनाको संक्रमण अन्य घरपरिवारमा फैलिने खतरा छ,’ उनले स्पष्ट पार्दै भनिन्।

तीन दिनदेखि लागातार घट्दै संक्रमितको संख्या

पछिल्लो तीन दिनको पीसीआर परीक्षणमा संक्रमितहरुको संख्या लगातार घट्दो दरमा देखिएको छ। भदौ ७, ८ र ९ गतेको एक हजार १०२ जनाको स्वाब परीक्षणबाट जम्मा ११३ जनामात्र पर्सा–बारामा संक्रमित थपिएका छन्। मंगलवार भदौ ९ गते नारायणी पीसीआर प्रयोगशालामा ४०२ जनाको नमुनामा १० महिला, ३० पुरुषसहित जम्मा ४० जनाको पोजेटिभ रिपोर्ट आएको छ। मंगलवार राति सर्वाजनिक रिपोर्टमा पर्साका १९ बाराका २१ जना रहेका छन्। बारा, निजगढका संक्रमित बढी रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराएका छन्। त्यसैगरी, ४० जनामा एक जना मृत्यु भएका पर्साका सुगौलीका ६८ वर्षीय वृद्धको, बारा, कलैया र जितपुर सिमराका पनि केही संक्रमित रहेका छन्। त्यसैगरी, गत भदौ ७ र ८ गते भएको ७ सय नमुना परीक्षणमा पर्सा, बाराका ९३ जना संक्रमित थपिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell