विराटनगर : विराटनगरका तीन वटा रोटरी क्लब मिलेर कोभिड–१९ को नियन्त्रणका लागि आवश्यक पर्ने पीसीआर मेसिन लगायतका १ करोड मूल्यका सामग्री प्रदान गर्ने भएका छन्।
रोटरी क्लब अफ विराटनगर, डाउन टाउन र फ्युजन गरी तीन वटा क्लबले स्वास्थ्य सामग्री र उपकरण प्रदान गर्ने भएका हुन्।
रोटरी क्लब अफ विराटनगरका सेवा निर्देशक मनोजविक्रम शाहका अनुसार पीसीआर मेसिन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिने छ। महानगरले उक्त मेसिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दिने छ।
त्यस्तै स्वाब सङ्कलनमा प्रयोग गरिने आरएनए एक्स्ट्रयाक्टर र यसलाई आवश्यक पर्ने रिएजेन्ट तथा अक्सिजन सिलिन्डर बैङ्क स्थापनाका सामग्री पनि रोटरीले दिने भएको छ। रोटरी फाउन्डेसनको कोभिड ग्लोबल ग्रान्टमार्फत अनुदानमा ती सामग्री उपलब्ध गराउन लागेको निर्देशक शाहले जानकारी दिए।
अक्सिजन सिलिन्डर बैङ्क विराटनगर महानगरपालिकाले सञ्चालन गर्नेछ। यसका लागि ३० वटा अक्सिजन सिलिन्डर रोटरीले उपलब्ध गराउने छ। घरमा नै आइसोलेसनमा बसेका बिरामीले पनि महानगरपालिकाको रेखदेखमा उक्त अक्सिजन सिलिन्डर प्रयोग गर्न सक्नेछन्।
यसबाहेक रोटरीले प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल विराटनगरका लागि समेत एक–एक थान भ्यान्टिलेटर र इन्सिनेटर समेत उपलब्ध गराउने सम्झौता भएको छ।
आगामी ३ हप्ताभित्र सबै सामान आएर हस्तान्तरण भइसक्ने शाहले बताए।
‘विराटनगरमा समुदाय स्तरमै कोरोना फैलिसकेको छ’, निर्देशक मनोजले भने, ‘यसको रोकथामका लागि हामीले रोटरी फाउन्डेसनलाई अनुरोध गर्यौँ र त्यहाँबाट सामग्री प्राप्त गरेका हौँ।’
