जनकपुरधाम : धनुषामा भैंसी नुहाउन गएकी एक महिला एकदिन पश्चात मृत फेला परेकी छन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–२ राधापुर बस्ने उत्तिम यादवकी ४० वर्षीया पत्नी भुटि देवी यादव मृत भेटिएकी हुन्।
मंगलबार बिहान करिव ११ बजे गाउँकै छेउमै रहेको बलुवा खोलामा खनिएको खाल्डोमा भैंसीलाई नुहाउन गएकी यादव अबेर रातीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज (बुधबार) दिउँसो १२ बजे नदी किनारमा मृत अवस्थामा भेटिएकी हुन्।
गाउँकै एक व्यक्ति नदीमा माछा मारिरहेको समयमा मृतक महिलाको शव नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनको शवलाई प्रहरी र स्थानीयको सहयोगमा नदीबाट निकालिएको छ।
त्यस्तै, आजै जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा समेत एक पुरुषको शव आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। एकाबिहानै रजौलस्थित बाँसबारीमा आँपको रुखमा डोरिमा पासो लगाएर झुण्डिएको अवस्थामा स्थानीय खेहरु यादवका ३० वर्षीय छोरा छबिलाल यादवको शव बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
मृतकद्धयको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
