
काठमाडौं : काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत राजस्थान लक्षमणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।
उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० थान विभिन्न मोवाइल डिसप्ले, ५९३ थान विभिन्न ब्राण्डको ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोबाइल डिस्प्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
गाई काटेको अभियोगमा पक्राउ
यता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने शङ्खुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको छ। चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए।
त्यसपश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।